नेपालगंज, बाँकेमा संक्रमण दर पनि डर लाग्दोगरी बढेको तथ्यांकले देखाएको छ । २१ दिनमा जिल्लामा संक्रमितको संख्या ६ हजार १ सय ४३ पुगेको छ । अहिलेपनि जिल्लामा सक्रिय संक्रमितको संख्यया ४ हजार ६ सय ४६ रहेको छ ।
यस्तै २१ दिनको अवधिमा ८३ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा अधिकांश युवा उमेर समूहका देखिएका छन् ।
कोरोना भाइरस संक्रमित बिरामीहरुको उपचार गर्दै आएको नेपालगन्ज मेडिकल कलेज कोहलपुरले अब नयाँ संक्रमित बिरामीहरु भर्ना गर्न नसकिने जनाएको छ । अस्पतालले संक्रमित बिरामीहरुको उपचारका लागि आवश्यक हुने अक्सिजनको अभावका कारण अब नयाँ बिरामीहरु भर्ना गर्न नसकिने जनाएको हो ।
३०० बेडको कोभिड डेडिकेटेड अस्पताल सञ्चालनको तयारी गरेको मेडिकल कलेजले एक्कासी अक्सिजनको अभावकै कारण यो सञ्चालन गर्न नसकिएको जनाएको हो । हाल अस्पतालले १३५ कोभिड बेडमा बिरामीहरुको उपचार गरिरहेको छ । अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्क, पिएसए अक्सिजन प्लान्ट, अक्सिजन सिलिन्डरबाट बिरामीहरुको उपचार गर्दै आएको थियो ।
सबैभन्दा भरपर्दौ लिक्विड अक्सिजन ट्याङ्क सकिएको र भारतबाट समेत नआईरहेकाले हाल उपचारमा रहनुभएका बाहेकका बिरामीहरु भर्ना गर्न नसकिने अस्पतालले जनाएको हो । बुधबार अस्पतालका निर्देशक डा.सुरेश कुमार कनोडियाले एक विज्ञप्ती सार्वजनिक गर्दै कोरोना संक्रमित बिरामीको उपचारका लागि अस्पताल गम्भीर रहेको भन्दै सरकारले भारतबाट लिक्विड अक्सिजन ट्याङ्क चाडै उपलब्ध गराए अस्पतालले तुरुन्त ३०० बेडको कोभिड डेडिकेटेड अस्पताल सञ्चालन गर्ने जानकारी दिनुभएको छ ।
भिडियो हेर्नुहोस् ///