गगन थापालाई स्वास्थ्यमन्त्री बनाउने तयारी
काठमाडौं-सर्वोच्चको आदेशपछि काँग्रेस सभापति शेरबहादुर देउवा आज पाँचौपटक प्रधानमन्त्री बन्दै छन् । सर्वोच्चको फैसलापछि देउवाले आज प्रधानमन्त्रीमा शपथ लिन लागेका हुन् । देउवाले शपथ ग्रहण गर्दै गर्दा सानो आकारको मन्त्रिमण्डलका सदस्यलाई समेत शपथ गराउने तयारी भइरहेको बताइएको छ ।
यसै बिच काँग्रेस नेता गगन थापालाई स्वास्थ्य मन्त्री बनाइने बताइएको छ ।कोरोनाको महामारीबाट बाहिर निस्किनका लागि प्राथमिकतामा परेको स्वास्थ्य मन्त्रालयमा थापालाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिन लागेको बताइएको छ ।यस अघि पनि गगन थापा स्वास्थ्य मन्त्री बनेका थिए । त्यती बेला उनले स्वास्थ्य बिमा कार्यक्रम लागु गरेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । सोमबार सर्वाेच्च अदालतले दिएको परमादेशअनुसार मंगलबार राष्ट्रपति भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
प्रधानमन्त्रीमा नियुक्त देउवालाई पद तथा गोपनीयताको शपथ गराउने तयारी राष्ट्रपति कार्यालयले गरिरहेको छ ।
संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा १४९ जना सांसदको हस्ताक्षरसहित देउवाले गरेको दाबीलाई सर्वाेच्च अदालतको संवैधानिक इजलासले सोमबार सदर गर्दै मंगलबार साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिको नाममा परमादेश जारी गरेको थियो ।
साथै सोही इजलासले प्रतिनिधि सभा विघटनलाई बदर गर्दै संसद पुनर्स्थापना गरेको थियो । राष्ट्रपतिले देउवालाई प्रधानमन्त्री नियुक्त गरेसँगै केपी शर्मा ओली पदमुक्त भएका छन्।