News

भोलिदेखि लामो दुरीको बस सञ्चालन गर्ने तयारी

काठमाडौं / कोरोना भाइरस संक्रमणको दोश्रो लहर सुरु भएसँगै स्थानीय प्रशासनले निषेधाज्ञा लागु गरेपछि लामो दूरीको सार्वजनिक यातायात बन्द भएको थियो । संक्रमण कम भएको भन्दै सरकारले हवाई यातायात, जिल्लाभित्रको सार्वजनिक यातायात र बजार खुला गरेपनि लामो दूरीको सार्वजनिक यातायात भने अझै संचालन गर्न अनुमति दिएको छैन ।

सरकारले लामो दूरीको सार्वजनिक यातायात संचालन गर्न रोक लगाएपनि यातायात व्यवसायीले अटेर गर्दै सेवा थाल्ने तयारी गरेका छन् । लामो तथा छोटो दूरीमा बस सेवा संचालन गर्दै आएको पृथ्वी राजमार्ग बस संचालक कम्पनिले निषेधाज्ञा नहटाएपनि आगामि बुधबारदेखि देशभर लामो तथा छोटो दूरीको सार्वजनिक यातायात संचालन गर्ने बताएको छ ।

‘निषेधाज्ञा रहेकै बेला पनि लामो तथा छोटो दूरीमा सार्वजनिक यातायात संचालन गर्ने रहर नभई दैनिक रोजीरोटीको व्यवस्था गर्न गरिएको अप्रिय निर्णय हो,’ कम्पनिका अध्यक्ष योगेन्द्रबहादुृर केसीले सोमबार पत्रकार भेटघाटमा भने, ‘सकेसम्म सरकारले नै सहज ढंगले लामो दूरीको यातायात सेवा संचालनल गर्ने वातावरण मिलाओस भन्ने चाहेका थियौ । तर, सरकारले त्यो गरेन, सरकारले वेवास्ता गरेपनि हामी बाध्य भयौं ।’ केसीका अनुसार बुधबारदेखि कम्पनिले आफ्ना काउन्टर खुला गरि टिकट बुकिङ गरेर यातायात सेवा संचालन गर्ने तयारी भएको छ ।

कोरोनाको दोश्रो लहरको प्रभाव कम हुँदै गएपनि विभिन्न पेशा व्यवसाय खुला भएपनि लामो दूरीको सार्वजनिक यातायात सेवा संचालन हुन नसकेको उनले बताए । ‘सरकारले मध्यम तथा लामो दूरीको यातायात संचालन गर्दा कोरोना संक्रमण बढ्छ भन्ने जस्तो तथ्यगत आधारबिना पेशा व्यवसायमा रोक लगाउनु न्यायोचित होइन,’ केसीले भने, ‘राज्यले सबै व्यवसायिक क्षेत्र चलायमान गराएपनि लामो दूरीको सवारीसाधनप्रतिको विभेदलाई भद्र अवज्ञा गर्न थालेका हौ । सरकारले रोकेर अब लामो दूरीको सार्वजनिक यातायात संचालन हुनबाट रोकिन्न ।’ सरकारले गत बैशाख १६ देखि लामो दूरीको सार्वजनिक यातायात सेवा बन्द गराएको थियो । आजको नागरिक दैनिकबाट

Related Articles

Back to top button