एक महिना देखि बेपत्ता प्रहरीको खोजी यसरी हुँदैछ, घरवाट कार्यालय जान हिँडेका उनी बाटोवाटै कसरी हराए ?
काठमाडौ । गोरखामा एक जना प्रहरी जवान करिब एक महिना देखि हराएका छन् । उनी विदा वसेर घरवाट कार्यालय जान हिँडेका थिए । तर उनी कार्यालय पनि पुगेनन् । गोरखा जिल्लाको सामागाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान ३१ वर्षीय मोहनसिंह कुँवर असार १ गतेवाट हराएका हुन् । उनी दुर्गम ठाउँमा कार्यरत थिए । गोरखाका प्रहरी प्रमुख एसपी शेखर खनालले उनको खोजी भइरहेको जानकारी दिए।
हराएका प्रहरी जवानको खोजीका लागि उद्धार कार्यका विज्ञ टोली गोरखा पुगेको छ । गण्डकी प्रदेशबाट सहायक प्रहरी निरीक्षकको कमाण्डमा सात जनाको टोली खटिएको गोरखा प्रहरी प्रमुख एसपी शेखर खनालले जानकारी दिए । कुकुर सहितको विषेशज्ञ टोली खोजीका लागि गएको हो ।
विदा बसेर आफ्नो कार्यक्षेत्र फर्कदा उनलाई केही साथीहरुले बाटो सम्म पुर्याउन पनि गएका रहेछन् । साथीहरूले असार १ गते तातोपानीसम्म पुर्याएर फर्किएका थिए । उनी आफ्नो कार्यक्षेत्र जाने वाटैमा रहेको जगत प्रहरी चौकी, सिर्दिबास चौकी, नाम्रुङ चौकीमा पनि सम्पर्कमा छैनन्। उनले जिल्ला प्रहरी कार्यालयमा पनि सम्पर्क नगरी घरवाट कार्यक्षेत्रतिर हिँडेका थिए ।
गोरखा सदरमुकामबाट ५२ कोस टाढा रहेको सामागाउँ पुग्न एकदिन मोटरबाटो र चार दिन पैदल हिँड्नुपर्छ। उनी घरवाट हिँडेपछि सो क्षेत्रमा निकै ठूलो वर्षा भएको थियो । ठाउँ ठाउँमा पहिरो समेत गएको छ । अवरुद्ध भएको बाटो अहिले सम्म पनि खुलाउन सकिएको छैन । जसका कारण उनको खोजीमा पनि समस्या भएको छ ।
कुँवरको खोजबिन तथा घटनाको छानबिनका लागि जिल्ला प्रहरी कार्यालय गोरखाले प्रहरी निरीक्षकको संयोजकत्वमा छानबिन समिति गठन गरी खोज्ने काम गरिरहेको एसपी खनालले बताए। ११ वर्ष देखि प्रहरी सेवामा रहेका उनी हिँडेको दिन देखि परिवारको सम्पर्कमा पनि नरहेको र उनको फोन पनि अफ भएको प्रहरीले जनाएको छ ।