News

एक डोज मात्र लगाए पुग्ने अमेरिकाको खोप भोलि नेपाल आइपुग्ने, तर कसले पाउँछन्?

वासिङन डिसी- अमेरिकी सरकारले कोभ्याक्सअन्तर्गतको भाइरसविरुद्धको १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ। अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट स्थानीय समयअनुसार आइतबार नेपालका लागि प्रस्थान गर्ने र सोमबार बिहान नेपाल पुग्ने कार्यतालिका रहेको छ।

उक्त खोप एक मात्रा लगाए पुग्ने खोप हो। कोरोना भाइरसविरुद्धको लडाइँमा अमेरिकी सरकारले नेपाललाई काेभ्याक्स मार्फत गरेको सहयोगअन्तर्गत खोप सहयोग हो। अमेरिकाका लागि नेपालका राजदूत युवराज खतिवडाले महाविपत्तिको बेलामा मित्रराष्ट्र अमेरिकाको सहयोग महत्त्वपूर्ण भएको बताए। उनले भने, ‘अमेरिकी सरकारको सहयोगका लागि नेपाल सरकारका तर्फबाट म अमेरिकी सरकार र यहाँका जनताप्रति हार्दिक आभार व्यक्त गर्दछु।’

राजदूत खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेषित गरेको पत्रको प्रत्युत्तरमा अमेरिकी राष्ट्रपति जो वाइडेनले नेपाललाई अधिकतम सहयोग गर्ने बताएको जानकारी दिए। राष्ट्रपति वाइडेनले राष्ट्रपति भण्डारीलाई प्रेषित गरेको पत्रलाई उद्धृत गर्दै राजदूत खतिवडाले भने, ‘अमेरिकी सरकारले जी-७ को बैठकले पारित गरेको खोपसम्बन्धी निर्णयलाई कार्यान्वयन गर्नेछ।’ हालै सम्पन्न जी-७ को बैठकले विश्वव्यापीरूपमा खोप वितरणलाई उच्च प्राथमिकतामा राखिने निर्णय गरेको थियो।

अमेरिकाका सङ्‍घीय सरकारका जनप्रतिनिधिमार्फत नेपाललाई खोप उपलब्ध गराउनका लागि समन्वय गर्दै आएका मेरिल्याण्ड जनरल एसेम्बलीका विधायक ह्यारी भण्डारीले अमेरिकी सरकारले नेपाललाई हरेक सहयोगमा प्राथमिकतामा राख्दै आएको बताए। ‘भाइरसका कारणले नेपालको अवस्था गम्भीर रहेको विषयलाई राजनीतिक तहमार्फत् जनप्रतिनिधिहरूसँग निरन्तर समन्वय गर्दै आएकामा पहिलो प्रयास सफल भएको छ,’ उनले भने, ‘यो एउटा सामूहिक पहलकदमी हो र सङ्‍घीय सरकारको नीतिगत व्यवस्थाअन्तर्गत कार्यान्वयन भएको हो, यो मानवीय सहयोगको महत्त्वपूर्ण पाटो पनि हो।’

नेपालले अमेरिकाबाट थप खोप खरिदका लागि समेत पहल गरिरहेको छ तर खोपको माग अत्यधिक भएकाले कतिपय कम्पनीहरुले सन् २०२१ सम्मका लागि नयाँ सम्झौता गर्न नसकिने बताइरहेका छन्। नेपालले खोपको आयात गर्न र भण्डारण गर्न पूर्वाधारसमेत निर्माण गर्नुपर्ने हुन्छ। त्यसका लागि अझ बढी समय लाग्नसक्ने जानकारहरुको भनाइ छ।

कसले पाउँछन्?

एक डोज लगाए पुग्ने सो खोप झन्डै १५ लाख मानिसलाई पुग्ने छ। तर उक्त खोप क-कसलाई लगाउने भन्नेबारे सरकारले निर्णय गरिसकेको छैन। सोको निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने भनिए पनि खोप कसले पाउने भनेर अझै टुंगो भइनसकेकोछैन। खोपका लागि धेरैको निवेदन आएको छ। तर पहिलो प्राथमिकताचाहिँ उमेर समूह नै छ।

समितिले वैदेशिक रोजगारीमा जाने कामदारलाईसमेत खोपका लागि प्राथमिकतामा राख्न सुझाएको छ। ‘जुन देशमा कामदार जाँदा खोप अनिवार्य गरेको छ, त्यस्तो देशमा जाने कामदारलाई प्राथमिकतामा राखिने भएको छ।

Related Articles

Back to top button