घरमै पुगेर स्वाब सङ्कलन गर्नुपरे थप पाँच सय रुपैयाँ लाग्ने
काठमाण्डौ / पीसीआर परीक्षणका लागि घरमै पुगेर स्वाब सङ्कलन गर्नुपरेमा थप पाँच सय रुपैयाँ शुल्क लाग्ने भएको छ । अशक्त र जटिल बिरामीका लागि स्वाब सङ्कलन टाेली घरमै पुग्ने र त्यसका लागि थप पाँच सय रुपैयाँ लाग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले स्वाब सङ्कलनका लागि पाँच सय रुपैयाँ शुल्क लाग्ने जानकारी गराउनुभएको हो । त्यसका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मापदण्ड तयार गर्ने पनि उहाँले बताउनुभयो ।
यस्तै सरकारले बिहीवार (भोलि) सम्ममा कोरोना सङ्क्रमित व्यक्तिको उपचारमा प्रयोग हुने रेम्डिसिभर चार हजार भाइल आइपुग्ने जनाएको छ । मङ्गलवार (हिजो) तीन हजार भाइल उपलब्ध भएको र दुई दिन अघिसम्म एक लाख २५ हजार भाइल प्राप्त भएको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बताउनुभयो ।
यसैबीच प्रवक्ता गौतमले देशभरका अस्पतालमा क्षमताभन्दा बाहिर गएर उपचार चलिरहेको बताउनुभएको छ । कोरोनाले आफ्नो र पराई भनेर कसैलाई नछुट्याउने भन्दै उहाँले अनिवार्य स्वास्थ्यका मापदण्ड पालन आग्रह गर्नुभयो ।