अमेरिकाका दुई मेयरले गरे नेपाली वैज्ञानिक महावीर पुनलाई सम्मान
काठमाडौं / वैज्ञानिक महावीर पुन अमेरिकामा सम्मानित भएका छन । नेपालमा सूचना प्रविधिको क्षेत्रमा विभिन्न अनुसन्धानमूलक काम गरेको भन्दै उनलाई ओहियो शहरका दुई मेयरले सम्मान गरेका हुन् ।
आफैँ पढेको नेब्रास्का विश्वविद्यालयमा काम परेर उनी करिब दुई महिनाअघि अमेरिका गएका थिए । त्यहाँको बसाइँमा नेपाल आविष्कार केन्द्रले गरिरहेकाे कामबारे जानकारी दिन उनी विभिन्न कार्यक्रममा सहभागीसमेत भए । उनी आविष्कार केन्द्रका संस्थापक हुन् ।
अमेरिका बसाइँमा आफू २८ वटा राज्यको ५२ शहरमा आयोजित विभिन्न कार्यक्रममा सहभागी भएकाे उनले बताए । महावीर पुन लामो समययता सामाजिक कार्यमा समेत सक्रिय छन् । गाउँगाउँमा इन्टरनेटको पहुँच विस्तार गर्न सघाउ पुर्याएका उनले सन् २०१२ मा सूचना तथा प्रविधिमार्फत देश विकासमा सम्भावनाहरूको खोज र आविष्कार गर्ने उद्देश्यले नाफारहित संस्था राष्ट्रिय आविष्कार केन्द्रकाे स्थापना गरेका थिए ।