निषेधाज्ञा असार ३१ सम्म थपियो, होटल तथा खाजाघर खुल्ने
चितवन, २४ असार (रासस) : स्थानीय प्रशासनले जारी राखेको निषेधाज्ञा केही खुकुलो गर्दै असार ३१ गतेसम्म थप गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा आज रातिदेखि सकिन लागेको निषेधाज्ञाको समय थप एक साता लम्ब्याइएको हो । निषेधाज्ञा असार ३१ गते राति १२ बजेसम्म जारी रहने छ ।
निषेधाज्ञा थप भए पनि केही क्षेत्र खुकुलो पारिएको छ । आदेशानुसार शुक्रबारदेखि होटल तथा खाजाघर टेक अवे र होमडेलिभरी सेवा दिने गरी बिहान ११ देखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ । होटल तथा लज स्वास्थ्य मापदण्ड पालना गरी कूल कोठाको एक तिहाइ सङ्ख्या नबढ्ने गरी सञ्चालन गर्न पाइने भएको छ । कोठा प्रत्येक दिन अनिवार्यरूपमा निसङ्क्रमण गर्नुपर्नेछ ।
यस्तै अब बजार दैनिक आठ घण्टा खोल्न पाइने भएको छ । आदेशमा भनिएको छ, “शुक्रबारदेखि इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स पसल, भाँडा, कपडा, फेन्सी, कम्प्युटर, कस्मेटिक तथा गिफ्ट, सुनचाँदी, फर्निचर, अटोमोबाइल, मोटरपार्ट्स, जुत्ता चप्पल, टेलरिङ, प्रेस तथा फोटोकपी पसल बिहान ११ देखि साँझ ७ बजेसम्म खोल्न पाइने छ ।”
यसअघि साताको तीन दिन दिउँसो १२ देखि ६ बजेसम्म छ घण्टा मात्रै खोल्न पाइने व्यवस्था थियो । प्रशासनले शुक्रबारदेखि बारअनुसार खुल्ने व्यवस्था हटाएको हो । यसबाहेक अत्यावश्यक सेवा दिने खाद्यान्न, तरकारी तथा फलफूल, दूध, माछा मासु, औषधि, ग्यास, निर्माण सामग्रीसम्बन्धी पसल तथा पुस्तक पसलमा पनि लगाइएको समय सीमा हटाइएको छ । अब यी पसल दैनिक खोल्न पाइनेछ ।
प्रशासनले यसअघिको अदेशमा नै सेवाग्राहीको बढी भीडभाड हुने सरकारी कार्यालयले बारअनुसार सेवा प्रवाह गर्न पाइने निर्णय गरेको थियो । प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय तथा यातायात कार्यालयले बारअनुसार सेवा दिइरहेका छन् । अन्य सबै सरकारी कार्यालयले पनि स्वास्थ्य मापदण्ड पालना गरेर सेवा प्रवाह गरिरहेका छन् ।
कार्यालयले जारी गरेको आदेशमा स्थानीय रुटमा चल्ने सार्वजनिक सवारी साधन जोर बिजोर प्रणालीअनुसार सञ्चालन गरिने जनाइएको छ । सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, मास्क अनिवार्य गर्नुपर्ने, मास्क नलगाउने यात्रुलाई प्रवेश निषेध गर्ने गरी जोर बिजोर प्रणाली लागू गरिएको हो ।
यो पनि – तीन उडानमा खोप नेपाल आउने
काठमाडौँ, २३ असार । कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’ नेपाल ल्याउनका लागि भोलिदेखि तीन उडान हुने भएको छ । नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजबाट भोलिदेखि यहि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले चीनबाट भेरोसेल खोप ल्याउनका लागि जहाज त्यसतर्फ जाने बताउनुभयो । सरकारले सरकार–सरकार (जिटुजी)मार्फत चीनबाट खोप ल्याउन लागेको हो । उहाँका अनुसार भोलि साँझ निगमको विमान खोप लिनका लागि चीन जादै छ । जहाजले असार २५ गते खोप ल्याउने छ ।
यस्तै असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते तथा साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ । “भोलिदेखि तीन पटक जहाज खोप लिनका लागि चीन जाने छ”, उहाँले भन्नुभयो, “परिणाम ठूलो आउँछ तर कति आउँछ भन्ने एकिन छैन ।”उहाँले पहिलो पटक खोप ल्याइसकेपछि मात्र कति मात्रा खोप नेपाल आएको एकिन थाहा हुने बताउनुभयो । चीनको सिनोफार्म कम्पनीबाट सरकारले भेरोसेल खोप खरिद गर्न लागेको हो । खोप नेपाल आइसकेपछि ६० वर्ष मुनि उमेर समूहका मानिसलाई प्रथामिकताका आधारमा लगाउने उहाँको भनाइ रहेको छ ।
यस्तै सरकारलाई कोभ्याक्स सुविधामार्फत समेत छिट्टै खोप ल्याउने मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. पौडेलले ६० लाख जनसङ्ख्यालाई पुग्ने खोप कोभ्याक्सले उपलब्ध गराउने प्रतिवद्धता अनुसार बाँकी खोप दिने तयारी गरिरहेको जानकारी दिनुभयो । यसअघि कोभ्याक्समार्फत तीन लाख ४८ हजार मात्र खोप आएको थियो । नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आएको छ । नेपालमा १८ वर्षभन्दा माथिका कुल दुई करोड २० लाख जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिइएको छ । अहिलेसम्म आठ लाख ५१ हजार ३०० जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८०७ जनालाई पहिलो मात्राको खोप प्रदान गरिएको छ ।