खाना पकाउने ग्यासको पनि मूल्य बढ्यो
नेपाल आयाल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । मूल्य बढाएको दुई साता पनि नबित्दै निगमले आज सोमबार फेरि इन्धनको मूल्य बढाएको हो । गत असार १० गते राती १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ बनाएको थियो । पुनः प्रतिलिटर २ रुपैयाँले बढाएर पेट्रोलको मूल्य १२९ रुपैयाँ पुर्याएको छ । डिजेल/मटितेलको मूल्य अब प्रतिलिटर २ रुपैयाँ बढेर ११२ रुपैयाँ पुगेको छ ।
हवाई इन्धन आन्तरिक तर्फ प्रतिलिटर २ रुपैयााले बढाएर ८४ रुपैयाँ, हवाई इन्धन (अन्तर्राष्ट्रिय)को प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ डलर पुर्याएको छ । खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि गरेर १४ सय २५ रुपैयाँ कायम गरेको छ ।
गत वर्ष लकडाउनमा निगमले उच्च नाफा राखेर तेल बचेको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको घट्दा मूल्य नघटाउने निगमले बढ्दा भने घाटा भएको कारण देखाउँदै लगातार मूल्य बढाइरहेको छ ।
गत जेठ २२ गते निगमले पेट्रोल, डिजेल/मटितेल तथा हवाई इन्धन (आन्तरिक)को साबिकको बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको थियो । निगमले भविष्यमा अझै मूल्य बढ्न सक्ने बताएको छ ।
यस मूल्य समायोजन पश्चात् पनि निगमलाई पेट्रोलमा प्रति लिटर ७ रूपैँया ४५, डिजेलमा प्रति लिटर रू. ४ रूपैँया ३५ पैसा तथा एल.पि.ग्याँसमा प्रति सिलिण्डर रु. ३१९ रूपैयाँ ३२ घाटा नै रहेको निगमले जनाएको छ । हालको मूल्य समायोजन पश्चात् पनि भारतिय सिमाको रक्सौलसँग जोडिएको नेपालको विरगंज क्षेत्रमा पेट्रोल प्रति लिटर रू. ३६ र डिजेल प्रतिलिटर रू ४३ ले नेपाल तर्फ सस्तो रहेको निगमले जारी गरेको प्रेस विज्ञप्तीमा जनाइएको छ ।