डायलासिसका लागि आउजाउ गर्न समस्या भएपछि बढैयाताल गाउँपालिका–२, फुटाहा, बर्दियाका १७ बर्षिय मिर्गौला पीडित राजु परियारले भेरी अस्पताल जनरल वार्ड भवनको च्यानल गेटको प्यासेजलाई आफ्नो बासस्थान बनाएका छन् । झण्डै दुई महिनादेखि सोही ठाउँमा डेरा जमाएर बसेको उनकी आमा मखमली दर्जीले बताइन् ।
उनी एक्लै त्यहाँ बस्दैनन् उनको साथमा आमा मखमली र १४ बर्षिया बहिनी पनि साथमै बस्छन् । ‘बर्दियाबाट डायलासिसका लागि आउजाउ गर्न आर्थिक समस्या भएपछि भेरी अस्पतालको च्यानल गेटलाई डेराको रुपमा प्रयोग गर्न बाध्य भयौँ,’ मखमलीले भनिन् ।
उनीसँग भएको ५ कट्ठा जमिन पनि बैंकमा छ । उपचारका लागि साहु र इष्टमित्र सँग लिएको रकम बुझाउन बैंकबाट पाँच लाख रुपैँया लिएको उनको भनाई छ । बैंकको ऋण तिर्न उनका पति कतार पुगेका छन् । उहाँ (पति) ले पठाएको रुपैँया बैंकको साँवा र ब्याज बुझाउन ठिक्क हुन्छ । छोराको उपचार गर्न र छोराछोरीलाई खानलाउन के ले दिने हो,’ उनले भनिन् ।
नेपालगन्ज बस्न थालेपछि खान, बस्न झनै समस्या भएको उनले बताइन् । केहि समयसम्म भेरी अस्पतालले विरामीलाई प्रदान गर्ने खाना खाए पनि सधैँ खाँदा असजिलो महशुस भएको उनले बताइन् । मागेर खान लाज लागेपछि भेरी अस्पतालमा संचालित अञ्जनी माता रसोईमा सहयोगीको रुपमा काम गर्न थालेको उनको भनाई छ । दिनभर काम गरे बापत अञ्जनी माता रसोईले उनलाई दैनिक पाँच सय रुपैँया पारिश्रमिक दिने गरेको छ । ‘छोराको उपचारको क्रममा भएभरको सम्पत्ती सकिएपछि हामीसँग अस्पतालमा शरण लिनुको विकल्प भएन,’ उनले भनिन् ।
भेरी अस्पतालले राजुको डायलासिस निशुल्क गर्दै आएको छ, तर आर्थिक अभावका कारण उनले औषधि लगायत पोषिलो खाने कुरा खान पाएका छैनन् । पोषिलो खानाको कुरा परको भयो चिकित्सकले सिफारिस गरेको औषधि समेत नपाएको राजुले बताए । मिर्गौलाका विरामीले नियमित रुपमा प्रयोग गर्ने औषधि किन्न नसकेर स्वास्थ्य अवस्था दिनदिनै विग्रदै गएको छ,’ उनले भने ।
सरकारले दिएको सुविधा अनुसार राजुले डायलासिस सेवा निशुल्क पाए पनि नियमित रुपमा सेवन गर्ने औषधि किन्न नसकेर उनको स्वास्थ्य दिनदिनै विग्रदै गएको भेरी अस्पताल डायलासिस विभाग इन्चार्ज डा. पारस श्रेष्ठले बताए । औषधि नपाएर उनको पेटमा भरिएको पानी फाल्न नसकिएको उनले स्पष्ट पारे ।