बाढीको पूर्वसूचना दिने साइरन जडान
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नदी क्षेत्रका नागरिकलाई बाढी आउनुपूर्व सूचना दिलाउन साइरन जडान गरेको छ। बाढीको पूर्वसूचना आएसँगै मानिसहरु सुरक्षित स्थानतर्फ जानसक्ने भएकाले साइरन जडान गरिएको नगरपालिकाले जनाएको छ। साइरन जडानसँगै आगामी दिनमा बाढीबाट हुने मानवीय क्षति कम गर्न सकिने अपेक्षा गरिएको नगरप्रमुख डम्बर अर्यालले बताए।
यही असार १ गते मेलम्ची तथा इन्द्रावती नदीमा आएको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा ठूलो क्षति भएको छ । लगातारको वर्षाका कारण सिन्धुपाल्चोकका केही नदी तथा खोलामा बाढी आएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार सिन्धुपाल्चोकको शर्माथांग, धाप र चौतारामा रहेको वर्षामापन केन्द्रले जिल्लामा मध्यमदेखि ठूलो पानी परेको मापन गरेको छ ।
अझै थप वर्षाको सम्भावना रहेकाले बाढी आउन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले मेलम्ची बजार लगायत तटीय क्षेत्रहरुमा सतर्कता अपनाउन आग्रह गरेको छ । गएको १ गते आएको बाढीले मेलम्ची लगायत हेलम्बु क्षेत्रमा ठूलो नोक्सानी पुर्याएको थियो । अहिले पनि फेरि बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको हो ।