बाढीले बगायो पुल , बस्ती जोखिममा
काठमाडौं – तनहुँमा एक पक्कि पुल बाढीले बगाएको छ । अविरल बर्षासँगै आएको बाढीले व्यास १ र १३ जोड्ने छाब्दि दोभानको पक्कि पुल बगाएको छ ।
बाढीले छाब्दि दोभानको पुल बगाएको त्यहाँका स्थानीयले बताएका छन् । दुई वडा जोड्ने पुल बगाएपछि बेलबास, पोखरीभञ्ज्याङ् , बेनिकोट, गुदि लगायतका स्थानीयलाइ दैनिक आवत जावतको लागि समस्या पर्ने भएको छ ।
आज देशभर सामान्यदेखि पूर्णबदली रही देशका विभिन्न स्थानमा ठुलो पानी परिरहेको छ । लगातारको वर्षाका कारण नेपालका नदीहरुमा पानीको सतह बढ्ने क्रम जारी छ ।
मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान साढे ५ बजेको मापन अनुसार सिन्धुली जिल्ला स्थित कमला नदी, रानीबास बाढी मापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको छ ।
जसका कारण धनुषा, सिराहा लगायत तल्लो तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरुमा बाढी आउन सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ । सो क्षेत्रका बासिन्दाहरुलाई बाढीको पूर्व सूचना निरन्तर लिइरहन तथा आवश्यक सतर्कतासहित तयारी अवस्थामा रहन भनिएको छ ।
यस्तै तनहुँको बन्दीपुर, विमलनगर, सखर तथा चितवनको कालीखोला वर्षा मापन केन्द्रमा भारी वर्षाका भएका कारण सो क्षेत्रका ससाना नदीहरुमा आकमिस्क बहाव आउन सक्ने, तथा पहिरोको जोखिम रहेकाले तटीय तथा पहिलोग्रस्त क्षेत्रमा हुनेहरुले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।