काठमाडाैं । ट्राफिक प्रहरीले यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिने आठ जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले यात्रुसँग बढी भाडा लिने आठ जनालाई मङ्गलबार र आज बिहान पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दाङ घर भएका ३५ वर्षीय सन्तोष दमाई, ३८ वर्षीय कुशलराम बस्नेत, २८ वर्षीय गीमबहादुर गाहामगर, रुपन्देहीका ३६ वर्षीय दिपनारायण थापा, कपिलबस्तुका ४४ वर्षीय शिवलाल घिमिरे, मोरङका ३१ वर्षीय युवराज ढकाल, उदयपुरका २९ वर्षीय राकेश रसाइली र सोलुखुम्बुका २५ वर्षीय झनकबहादुर घिमिरे रहेका छन् ।
प्रहरीले छ जनालाई नयाँ बसपार्क र दुई जनालाई कोटेश्वरबाट पक्राउ गरेको हो । पक्राउ परेका सबैजनाले यात्रुसँग सरकारले तोकेकोभन्दा बढी भाडा लिएर यात्रु ओसारपसार गरेको पाइएको महाशाखाका प्रमुख र प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।
पक्राउ परेका छ जनालाई कारबाहीका लागि महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्क र दुई जनालाई महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको उक्त महाशाखाले जनाएको छ । महाशाखाले निषेधाज्ञाको समयमा यात्रुसँग बढी भाडा लिने ६१ जनालाई पक्राउ गरी कारबाही गरिसकेको छ ।