शुक्रबारदेखि देशभर सार्वजनिक सवारीसाधन चलाउने तयारी
काठमाडौं । नेपाल यातायात व्यवसायी र यातायात मजदुर संगठनहरूले शुक्रबारदेखि देशभरका सार्वजनिक सवारीसाधन चलाउने तयारी गरेका छन् ।
उनीहरूले देशभरका मजदुर र व्यवसायीलाई सवारी चलाउनका लागि सार्वजनिक आह्वान गरेका छन् । ‘असार १८ देखि देशभर चल्ने छोटो, मध्यम र लामो दूरीका सवारीसाधन चलाउने तयारी गरेका छौँ,’ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताउनुभयो । स्वस्फूर्त सार्वजनिक सवारी चलाउने र कारबाही गरे पनि जेल जान तयार रहेको उहाँले बताउनुभयो ।
सार्वजनिक सवारीसाधन चलाउनबाट रोक्नका लागि सरकारले राहतको व्यवस्था गर्नुपर्ने मजदुर संगठन तथा व्यवसायीहरूको भनाइ छ । १५ असारदेखि काठमाडौं उपत्यकाभित्र मात्रै ठूला सवारीसाधन सञ्चालन अव्यावहारिक रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताउनुभयो ।
यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले भने सार्वजनिक यातायात खुलाउने विषयमा विभागको कुनै भूमिका नहुने बताउनुभयो । यो विषय सिसिएमसी र मन्त्रिपरिषद्बाट निर्णय भएपछि हुने उहाँको भनाइ छ । सरकारको निर्णय नभई सवारीसाधन चलाए कानुनअनुसार अघि बढ्नुपर्ने उहाँले चेतावनी दिनुभयो ।
काठमाडौं जिल्ला प्रशासनले मंगलबार यातायात व्यवसायी र मजदुर संगठनका पदाधिकारीलाई बोलाएर कोभिडको प्रभावलाई हेरेर सरकारले निर्णय नगर्दासम्म सार्वजनिक यातायातका सवारीसाधन नचलाउने आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सरोकारवाला सबै निकायको बिहीबार बैठक डाकेका छन् । सबै पक्षको सहमतिमा स्वास्थ्य मापदण्ड बनाएर खुलाउन तयार रहेको प्रशासनको भनाइ छ ।
यसअघि सोमबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले काठमाडौं उपत्यकामा मंगलबारदेखि २५ सिटभन्दा बढीका सार्वजनिक सवारीसाधन जोर–बिजोरका आधारमा चल्न पाउने निर्णय गरेको थियो । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले यो निर्णय गरेको थियो ।