News

सिन्धुलीमा कमला नदी उर्लियो, उच्च सतर्कता अपनाउन आग्रह

सिन्धुलीमा कमला नदीमा ठूलो बाढी आएको र अझै बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सम्बन्धित क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ।

आज (बुधबार) बिहान ६ बजे सूचना जारी गरी विभागले भनेको छ, ‘सिन्धुलीस्थित कमला नदी रानीबास जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेकाले नदी तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रमा दिउँसोसम्मै उच्च सतर्कता अपनाऔं।!

त्यस्तै आज बुधबार देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश १, २ बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम पानी परिरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ । हाल देशको तराई भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको देखिन्छ ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा ठुलो पानी पर्ने सम्भावना रहेको छ  ।

त्यस्तै आज राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा ठुलो पानी पर्ने सम्भावना रहेको छ।

देशका केही स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेकोले पहाडी भू-भागमा पहिरोको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन मौसम विभागले अनुरोध गरेको छ।

Related Articles

Back to top button