पढाइ खर्च जुटाउन आँप बेचिरहेकी बालिका
काठमाडौं। कोरोनाभाइरस महामारीका कारण विद्यालय बन्द भयो । त्यसपछि ५ कक्षाकी विद्यार्थी तुलसी घरमै बस्न बाध्य भइन् । विद्यालयले पढाइ सुरु गरेको तुलसीले जानकारी पाइन् तर उनी कक्षामा उपस्थित हुन सक्दिनथिन् । कक्षा अनलाइनबाट चलिरहेको थियो र यसका लागि तुलसीसँग स्मार्टफोन थिएन । त्यसैले स्मार्टफोन किन्ने पैसा जम्मा गर्न उनले सडक किनारामा आँप बेच्न थालिन्।
यी बालिकाको कथा समाजिक संजालमा यसरी भाइरल भयो कि उनको सपनाले उडान भर्न पाउने भएको छ । बाटोमा आँप बेच्न बसेकी तुलसीसँग १२ वटा आँप थिए । एक व्यक्तिले उनलाई ती प्रत्येक आँपको १० हजार भारतीय रुपैयाँका दरले १२ वटा आँपको १ लाख २० हजार रुपैयाँ (नेपाली रुपैयाँ झण्डै २ लाख) दिएर सबै आँप किनिदिए ।
यी आँप खास आँप पनि थिएनन् । तर, पढाइको लागि ती बालिकाको संघर्ष देखेर ती व्यक्तिले यति महंगोमा आँप किनिदिएका थिए। भारतीय मिडियाका अनुसार भारतको झारखण्ड राज्यको जमशेदपुरमा स्ट्रेट माइल्स रोडमा बंगला नम्बर ४७ को आउटहाउसमा बस्ने ११ वर्षकी तुलसी ५ कक्षाकी छात्रा हुन् । उनको परिवारको आर्थिक अवस्था कमजोर छ ।
उनको परिवारले उनलाई पढाइरहेका त थिए तर कोरोनाकालमा स्कुल बन्द भए । स्कुल बन्द भएपछि अनलाइन कक्षा सुरु भयो तर तुलसीको पढाइ भने ठप्प भयो किनकि उनीसँग स्मार्टफोन थिएन।
तुलसीले पैसा जुटाउन आँप बेच्न थालिन् । उनले आफू बस्ने बंगलाको बगैंचामा फलेका पाकेका आँप टिपेर ल्याएर सडकमा बेचिरहेकी थिइन्। यस क्रममा तुलसीको यो कहानी सामाजिक संजालमा भाइरल भयो । सामाजिक संजालमा भाइरल भइरहेको यो कहानी मुम्बइको भ्यालुएबल एडुटेनमेन्ट कम्पनीमा उपाध्यक्ष अमेया हेतेसम्म पुग्यो । त्यसपछि उनले तुलसीलाई सहयोग गर्न अगाडि आए।
उनले तुलसीका १२ वटा आँप प्रतिआँप १० हजारका दरले १ लाख २० हजारमा किनिदिए । अब अमेया हेतेले तुलसीको सपनालाई नयाँ उडान दिएका छन्, तुलसी कहाँसम्म पुग्छिन् त्यो भने हेर्न बाँकी नै छ । यो पैसाबाट लुतसीले १३ हजार रुपैयाँमा स्मार्टफोन किनेकी छिन् । बाँकी रकम उनले अगाडिको पढाइको लागि राखेकी छिन् । अब भने उनी सडक किनारामा आँप बेचिरहेकी देखिन्नन।