News

आजदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चल्ने : अरु के-के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएको छ। सोमबार बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले खुकुलो बनाउँदै एक हप्ताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको थियो ।प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आजबाट जोर-बिजोर प्रणालीअनुसार सार्वजनिक यातायात बिहान ६ देखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न दिइने भएको हो । काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीका अनुसार २५ सिट वा सोभन्दा माथि सिट क्षमता भएका सार्वजनिक सवारीसाधन जोर-बिजोर प्रणालीबाट सञ्‍चालन गर्न पाइने छ ।

बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म चलाउन पाइने सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, बसमा स्यानिटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी कायम हुनुपर्ने जनाइएको छ । गत वैशाख १६ देखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिइएको थिएन । लामो दूरीका सवारी साधन भने सञ्चालन गर्न पाइने छैन। थपिएको एक साता निषेधाज्ञामा सरकारी, सार्वजनिक संस्थान, कुटनीतिक नियोग, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, कृषि, मल, बिउ विजन, पशु चिकित्सक लगायत अत्यावश्यक सेवा प्रदायक सवारी साधनहरु निर्वाध रुपले संचालन गर्न अनुमति दिइएको छ ।

त्यस्तै तरकारी, फलफूल, खाधान्न, दूध तथा दूग्धजन्य पदार्थ र सोको प्याकिङ सामग्री, कुखुराको दाना, चला र पशुपंछीजन्य पदार्थ, भेटनरी सम्बन्धी कार्य, ईन्धन, खाना पकाउने ग्यास, सरसफाईमा प्रयोग गरिने सामग्री, प्रिन्ट तथा सरकारी छापाखाना र कृषि कार्यमा प्रयोग हुने मल, वीउ लगायतका सामग्री बोक्ने सवारीले न्यूनतम जनशक्ति प्रयोग गरी संचालन गर्न पाउने छ ।सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, सैलुन, ब्यूटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालय, चिडियाखाना, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम संचालन गर्न रोक लगाइएको छ ।खुला स्थानमा मानिसहरु भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर पनि रोक लगाइको छ । । यस्तै शैक्षिक संस्थाहरु विघालय, कलेज, ट्यूसन सेन्टर, तालिम केन्द्रले भौतिक उपस्थितिमा पठन पाठन परीक्षाहरु संचालन गर्न गराउन नपाउने भनिएको छ ।

Related Articles

Back to top button