‘हाम्रो टिम नेपाल’ का सबै अभियन्ता छुटे
प्रहरीले पक्राउ गरेर हिरासतमा राखेका ‘हाम्रो टिम नेपाल’ का १७ जनालाई प्रहरीले छाडेको छ । खान नपाएकाहरूलाई निःशुल्क खुवाउँदै आएको हाम्रो टिम नेपालका १७ जना अभियन्तालाई प्रहरीले सोमबार पक्राउ गरेर प्रहरी क्लब भृकुटी मण्डपमा राखेको थियो ।
उनीहरूलाई भर्खरै छाडेको सो अभियानमा लागेकी अभियन्ता अनुपा बन्जाराले जानकारी दिइन् । अनामनगरमा रहेको खाना पकाउने ठाउँलाई खाली गर्न बल प्रयोग गर्दा हाम्रो टिमका सदस्य सपना रोका मगरसहित केही सदस्य घाइतेसमेत भएका थिए । उनीहरूको अवस्था अहिले सामान्य रहेको बन्जाराले बताइन् ।
‘प्रहरीले बल प्रयोग गर्दा सपना रोकासहित केही साथीहरू बेहोस तथा केही साथीहरूलाई चोट पनि लागेको थियो । तर, सामान्य उपचारपछि सबैको अवस्था ठीक छ,’ बन्जाराले भनिन् ।
अनामनगर प्रहरी वृत्तका प्रमुख डीएसपी हरि बस्नेतका अनुसार काठमाडौं महानगरपालिकाले पार्क बनाउन लागेका जग्गा खाली गराउन खोज्दा सामान्य बल प्रयोग गर्नुपरेको हो ।
हाम्रो टिमले प्रयोग गर्दै आएका सबै सामग्री महानगरपालिकाले नियन्त्रणमा लिएको छ ।