विदेशबाट स्वदेश फर्किने तयारीमा हुनुहुन्छ भने एकपटक अवस्य पढ्नुुहोला
काठमाण्डौ – विदेशबाट कोरोना विरुद्धको दुवै खोप लगाएर आएकाहरूलाई अब १० दिन सेल्फ क्वरेण्टीनमा बस्ने गरी सिधै गन्तव्यमा जान दिइने भएको छ ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको विदेशबाट नेपाल आउने यात्रुको व्यवस्थापनसम्बन्धी आदेश २०७८ मा हवाई मार्गमार्फत आउनेले खोपको मात्र पूरा गरी प्रमाणपत्र साथमा भएमा र कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ भएका यात्रुलाई १० दिन सेल्फ क्वरेण्टीनमा बस्ने गरी सिधै गन्तव्यमा जान अनुमति दिन सकिने व्यवस्था गरेको छ ।
सेल्फ क्वरेण्टीनमा बसे नबसेको अनुगमन गरी डीसीसीएमसी र पालिकाले कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीलाई प्रतिवेदन बुझाउन पर्नेछ ।आफ्नो रीतिरिवाज अनुसार अन्तिम संस्कारमा भाग लिन आउने नेपाली यात्रुको हकमा भने पालिका वा सीसीएमसीको सिफारिसमा एन्टिजेन परीक्षण गरी नेगेटिभ रिपोट आएमा सिधै गन्तव्यमा जान दिइने व्यवस्था गरिएको छ ।
घरमा बसेको ११ औँ दिनमा भने कोरोना परीक्षण गर्नुपर्नेछ । अशक्त, दीर्घ रोगी, फरक क्षमता भएका व्यक्ति र बिरामीको कुरुवा (कम्तीमा २ जना)लाई समेत अस्पतालको आधिकारिक कागजातका आधारमा एन्टिजेन परीक्षण गरी घर जान दिइने भएको छ । नयाँ प्रावधान अनुसार, ७० वर्ष माथिका ज्येष्ठ नागरिक, पाँच वर्ष मुनिका बालबालिका र नाबालकका बुबा आमासमेत एन्टिजेन परीक्षण गरी घर जाने सक्नेछन् । तर एन्टिजेन परीक्षण पोजेटिभ आएमा भने आइसोलेसन सेन्टर वा अस्पताल पठाइने छ ।
अब ७ दिन होटल क्वरेण्टीन: यसअघि खोप लगाएर आएका यात्रुलाई पनि १० दिन अनिवार्य गरिएको होटल क्वरेण्टीन व्यवस्था हटेको छ । अब खोप नलगाई नेपाल आउने यात्रुले पनि ७ दिन मात्र होटेल क्वरेण्टीन बसे पुग्ने व्यवस्था नयाँ प्रावधानमा गरिएको छ । पीसीआर रिपोर्ट र कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को वेबसाइटमा रहेको फारम भरेको यकिन भएका आधारमा एयरलाइन्स कम्पनीले जहाज चढाउन सक्ने छन् ।
होटेल क्वरेण्टीनमा बसेको ७ औँ दिनमा कोरोना परीक्षण गरी नेगेटिभ आएमा सिधै घर जान पाइने छ ।वैदेशिक रोजगारीमा गएका र करार अवधि सकिएर घर फर्कनेको हकमा भने अब होटेल बुकिङ नभए पनि जहाज चढ्न सकिने प्रावधान ल्याइएको छ । तर, उनीहरू नेपाल आइसकेपछि भने सरकारले क्वरेण्टीन भनी तोकेका होटलमा बस्नु पर्नेछ । यसअघि सबै यात्रुले होटेल बुकिङ नभई जहाज चढ्न नपाउने प्रावधान रहेको थियो ।
डिपोर्टेशन सेन्टरमार्फत फिर्ता भएका, जेलमुक्त भई स्वदेश फिर्तीको क्रममा रहेका र बेखर्ची भएका नेपालीहरूको सम्बन्धमा सम्बन्धित कूटनीतिक नियोगले छानबिन गरी आर्थिक अवस्था कमजोर भएका भनी सिफारिस गरेका व्यक्तिहरूलाई सरकारले तोकेको क्वरेण्टीनमा राखिने र त्यस्ता व्यक्तिको क्वरेण्टीन बस्दा, कोरोना परीक्षण गर्दा र घरसम्म जाँदा लाग्ने खर्च नेपाल सरकारले दिनेछ ।