News

असारे विकास : बजेट बग्दैछ यही हिलोमा

भोजपुर आर्थिक वर्ष सकिनै लागेको छ। नौवटै स्थानीय तहले नयाँ बजेट ल्याएका छन्। कोभिड–१९ महामारी चलिरहँदा सडकलाई प्राथमिकतामा राखिएका छन्। असार मसान्तअघि योजनाका कामहरू सिध्याउन भ्याइनभ्याइ छ। बजेट फ्रिज हुने डरले रातारात डोजर लगाएर नयाँ ट्रयाक खोल्ने होडबाजी चलेको छ। बर्खे झरीमा पनि असारे विकास रोकिएको छैन। तर, असारे विकासले दिगो विकासको सट्टा प्राकृतिक विपद् उन्मुख गराएको छ। नागरिकलाई सुविधाको नाममा सास्ती मिलेको छ। 

०७६/७७ को असार मसान्तभित्रै स्तरोन्नति सक्नुपर्ने सतीघाट दिङ्ला सडक खण्डको ठेक्का सम्झौतामा ढिलाइ भएपछि काम अपुरो बन्यो। १ करोड ८ लाख लागतमा काम सक्ने ठेक्का पाएको काश्यप निर्माण सेवा कम्पनीले असार दोस्रो साताबाट मात्र पर्खाल लगाउने काम थाल्दा काम आधाअधुरोमा रोकियो। विगतमा झैं असार लाग्दा भोजपुर सदरमुकाम र दिङ्ला जोड्ने ३८ किलोमिटर सडकखण्ड फेरि बिग्रिएको छ। 

ठेकेदार र ठेकेदार कम्पनीले गुणस्तरीय स्तरोन्नति काम नगर्दा सर्वसाधारण सास्तीमा छन्। किमालुङ, बैदारभञ्ज्याङ, धारापानी हुँदै दिङ्ला बजारसम्म जोडिने उक्त सडकखण्ड वर्षात लागेसँगै हिलाम्मे हुनाले सवारीसाधन ठप्प हुन्छ। असारे झरीमा दिङ्ला कुलुङ सडकखण्डमा केही वर्षअघि लगाएको ग्याबिन भत्काएर ठेकेदार कम्पनीले मेसिनरी वाल लगाउने काम अलपत्र पारेपछि पहिरोका कारण अहिले उक्त सडकखण्ड अवरुद्ध छ। ठेकेदारलाई पर्खाल लगाउने काम गर्न पटक–पटक ताकेता गरे पनि अटेर गर्दा पहिरोको जोखिम बढेको वडा नं ६ का वडाध्यक्ष सुजन राईले बताए।

सडकलाई विकासको प्राथमिकतामा राखेर बर्सेनि सडकमा करोडौं बजेट छुट्टिन्छ। तीनै तहका सरकारको पहिलो पारदर्शी विकास नै सडकलाई लिने प्रवृत्ति छ। बर्सेनि बजेटको आकार बढाइन्छ। स्थानीय वडातहसम्म भौतिक पूर्वाधार निर्माण भन्दै सडक खोल्ने, खन्ने र स्तरोन्नति गर्न लाखौंको बजेट लगाइन्छ। भेलसरी बग्ने बजेटले विकास समेट्नुभन्दा प्राकृतिक संरचना बिगार्ने काम गरिरहेको सरोकारवालाहरू सुनाउँछन्। हिउँदभर काममा ढिलासुस्ती र विभिन्न बाहनाबाजी गर्दै काम नगर्ने प्रवृत्तिले विकृति फैलाएको छ। असार मसान्तको चटारो, भुक्तानी सक्ने हतारो र बजेट फ्रिज हुने डरको विकासले नागरिकलाई सुविधाभन्दा द्विविधा दिएको स्थानीय हर्कराज राई बताउँछन्। 

बर्खे झरिमा त्रिपाल ओडेर असारे विकासलाई दिगोपना दिने प्रवृत्तिले जनताले समस्या भोग्नुपरेको छ। नयाँ आर्थिक वर्ष सुरु हुनभन्दा महिना अघिदेखि हतारहतार गरेर कामदार र कमसल सामान ढुवानीको जोहो गरी भुक्तानी निकासा लिने प्रवृत्तिले गुणस्तरहीन र कमसल काम हुन्छ। असार मसान्तको समयावधिमा योजनाको चटारोले स्थानीय तहहरूको पनि अनुगमन फितलो हुने क्रमले बर्सेनि बजेटको दुरुपयोग बढेको स्थानीय शम्भु वालाहाङ राईको बुझाइ छ।

बजेटको दुरुपयोग बढेको बताउँदै युवा अगुवा संग्राम किराँत भन्छन्, ‘असारे विकास दिगोविकास पनि होइन। सुविधाजनक प्रत्याभूति पनि हैन। यो त ठेकेदार र कमिसनमा लठिभद्र कर्मचारीको गोजी भर्ने विकास मात्र हो।’  (आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ)

Related Articles

Back to top button