आजदेखि हवाई टिकट बुकिङ खुला
काठमाडौं / असार १७ गतेबाट हुने नियमित उडानका लागि आन्तरिक वायुसेवा कम्पनीले टिकट बुकिङ लिन थालेका छन्। बुद्ध एयर र यति एयरलाइन्सले टिकट बुकिङ सुरु भएको जानकारी गराएका छन्।
सरकारले साबिकको तुलनामा ५० प्रतिशत ननाघ्ने गरी आन्तरिक उडान सुरु गर्ने निर्णय गरेको हो। सरकारले एक साताको समय राखी १ जुलाईबाट उडान गर्न अनुमति दिएको हो।
वायुसेवा कम्पनीहरूका अनुसार यात्रुले मोबाइल एप, वेबसाइट, रिजर्भेसन, नजिकको सेल्स काउन्टर वा ट्राभल एजेन्सीबाट समेत टिकट काट्न सक्ने छन्। नागरिक दैनिकबाट
त्यस्तै नेपाल सरकारले केहि महिनादेखि बन्द गरेको राष्ट्रिय अन्तर्राष्ट्रिय हवाई उडान सुचारु गरेको छ। सोही अनुरुप अन्तर्राष्ट्रिय हवाई उडान मलेसियादेखि काठमाडौंसम्मको लागि जुन २७ तारिखबाट उडान भर्ने तय भएको समय तालिका सार्वजनिक गरेको छ।
नेपाल सरकारबाट जुन ३० तारिख सम्मका लागि उडान तालिका सार्वजनिक गरिएको छ । जसअनुसार २४ जुनमा नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान गर्नेछ भने २५ जुनमा नेपाल एयरलाइन्सको जहाज जापान जानेछ । सोहि दिन एयर इण्डियाको जहाज दिल्लीबाट काठमाडौं आउनेछ ।
२६ जुनमा कतार एयरवेजको जहाज दोहाबाट काठमाडौं आउनेछ । टर्की एयरलाइन्सको जहाज इस्तानबुलबाट काठमाडौं आउने छ । यहि दिन एयर अरेवियाको जहाज आबुधावीबाट काठमाडौं आउने गरि उडान तालिका तय भएको छ ।
२७ जुनमा नेपाल एयरलाइन्सले दोहा उडान गर्नेछ यहि दिन हिमालय एयरलाइन्सले मलेसियाको क्वालालाम्पुर र दुबईमा एक/एक उडान गर्नेछ । कतार एयरवेज दोहाबाट काठमाडौं आउने छ । जजिरा एयरवेज कुवेतबाट काठमाडौं आउने गरि तालिका तय भएको छ ।