News

बाढीले बगर बनाएको लमजुङको हिले बजार

लमजुङ – दुवैतिर उच्च हरियाली पहाड । खोँच हुँदै बगेको दोर्दी खोला । खोला आडैमा रहेको लस्करै बस्ती । केही दिन पहिलेसम्म आकर्षक लाग्ने यो ठाउँ अहिले उराठ लाग्दो बनेको छ । लमजुङको सुन्दर हिलेबजार, अहिले बगरको तन्नामा लमतन्न परेको छ । एक सय १४ घरधुरी रहेको यस बजारमा अहिले २० घर घटेका छन् । असार १ गते (मंगलबार) दोर्दी खोलामा आएको बाढीसँगै बगेर गए २० घर । 

‘बाढीले धेरै क्षति पुर्यायो । हिलेबजारलाई बाढीले बगर नै बनाइदियो नि,’ भावुक हुँदै स्थानीय धर्म गुरुङले भन्नुभयो, ‘यति धेरै घरहरु त बगायो बगायो, बाँकी रहेको बस्ती पनि जोखिममा छ ।’उहाँका अनुसार बाढीले हिलेबजारका २० घरका साथै एक सामुदायिक भवन समेत बगाएको छ । बाँकी ५५ घर उच्च जोखिममा रहेका छन् । बाढीले बगाएको बस्तीमा बालुवा र ढुंगाको थुप्रो देख्न सकिन्छ । दोर्दीले फेरि बस्तीमा नजर लगाउने हो कि भन्ने चिन्ता छाइरहेको छ स्थानीयहरुमा ।

दोर्दी गाउँपालिका वडा नम्बर ८ मा रहेको हिलेबजार व्यापारिक केन्द्र पनि हो । दारिमबोट, लप्सीबोट, फलेनी लगायतका थुप्रै ग्रामीण क्षेत्रका नागरिक किनमेलका लागि हिलेबजारसम्म आउँछन् । बाढीले यहाँका धेरै क्षेत्र कटान गरेको छ । केही ठाउँमा बाटो अवरुद्ध भएको छ । हिलेबजारमा अहिले विद्युत सेवा ठप्प छ । झोलुङे पुल समेत उच्च जोखिममा छ । यहाँबाट हिँड्डुल गर्न रोक लगाइएको छ । ​दोर्दीखोलामा विगतमा सानोतिनो बाढी आउने गरेको तर यस वर्ष असारको सुरुमै ठूलो बाढी आएर निकै भौतिक क्षति पुर्याएको वडाअध्यक्ष तुलबहादुर घलेले बताउनुभयो । उहाँका अनुसार हिलेबजारका बाढीबाट विस्थापित भएकाहरु अहिले फलेनी माविको भवनमा बसेका छन् । विस्थापित र बाढीको जोखिममा रहेका अन्य स्थानीय माथि गाउँमा रहेका स्थानीयको घरमा बसेका छन् ।

‘विद्यालयको कुनै पनि कोठा खाली छैनन् । एउटा कोठामा २/३ घरका परिवार बसेका छन् । कोही माथि गाउँमा रहेका स्थानीयको घरमा बसेका छन्,’ वडाध्यक्ष घलेले भन्नुभयो ।‘ढुक्कले घरमा बस्न सक्ने स्थिति छैन’पानी पर्न नरोकिएको र बाढीको उच्च जोखिम रहेकाले यहाँका कुनै पनि स्थानीय ढुक्कले घरमा बस्न सक्ने स्थिति छैन । बाढीको उच्च जोखिममा रहेका हिलेबजारलाई जोगाउन तत्कालका लागि तटबन्ध गर्न स्थानीय, प्रदेश र संघ सरकारले सहयोग गर्न आफूले आग्रह गरेकाे वडाध्यक्ष घले बताउनुहुन्छ ।(उज्यालो अनलाइन)

Related Articles

Back to top button