News

के तपाई विदेश जाने तयारीमा हुनुहुन्छ ? जरुरी पढ्नुहोला

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप नलगाएका नेपाली कामदार अब रोजगारीको लागि खाडीका मुलुक जान नपाउने भएका छन्। खाडीका देशहरुले खोप लगाएका कामदारलाई मात्र आफ्नो देशमा रोजगारीको अवसर दिने जनाएपछि यस्तो अवस्था सिर्जना भएको हो।

खाडीका मुलुकहरूले खोप लगाएका कामदार मात्र लैजाने आदेश जारी गरेका छन् । संयुक्त अरब इमिरेट्स यूएईमा गत वैशाख २३ देखि नेपालबाट कामदारसहितको यात्रुलाई प्रवेश निषेध गरिएको छ ।

हप्तामा यूएई–नेपाल चारवटा चार्टर उडान भइरहेको छ । जसमा नेपाल र यूएईका दुईदुई हवाई कम्पनीहरूले अनुमति पाएका छन् । यी विमानहरूले यूएईबाट नेपालमा यात्रु ल्याउन मात्रै पाउँछन्, लैजान पाउँदैनन् ।

वैदेशिक रोजगार व्यवसायी संघका अनुसार यूएईले उडानमा रोक लगाउँदा ५ हजार जना नयाँ र बिदामा घर आएका कामदार रोकिएका छन् । असार ९ गते जारी खोपसम्बन्धी अर्को सूचनाले नेपालीको खाडीमा रोजगारी थप अन्योलमा परेको छ । कोरोना संक्रमणविरुद्ध दिइने खोपमध्ये यूएईको स्वास्थ्य मन्त्रालयले फाइजर–बायोटेक, स्पुतनिक–५, सिनोफार्म, अक्सफोर्ड–अस्ट्राजेनेकालाई मात्रै मान्यता दिएको छ ।

यी खोप लगाएकाले मात्रै यूएई प्रवेश पाइन्छ । यी खोप नेपालमा अभाव छ । कोरोनाको पहिलो संक्रमणको लहर देखिएलगत्तै कुवेतले नेपालबाट कामदार लगेको छैन । नयाँ भिसा पनि जारी गरेको छैन । आउँदो साउन १७ देखि भने खोप लगाइसकेको कामदार भने आउन पाउने सूचना जारी गरेको छ ।

कुवेतले कोरोनाबाट उच्च र कम जोखिममा रहेका देशको सूचीलाई हटाउँदै आफ्नो देशले अनुमोदन गरेको खोप लगाएकालाई मात्र प्रवेश अनुमति दिने नीति लिएको छ। कुवेतले अक्सफोर्ड–अस्ट्राजेनेका, फाइजर, मोडर्ना र जोनसन एन्ड जोनसनलाई अनुमोदन दिएको छ । सेप्टेम्बरपछि भने खोप नलगाएकाको भिसा नवीकरण नगरिने जनाएको छ ।

Related Articles

Back to top button