HealthNewsVideo

मेलम्चीका इन्जिनियरको बयान : हामी भिरमा चढ्न थाल्यौं, धेरै मानिस चिच्याइरहेका थिए, एक पटक पुलुक्क पछाडी फर्केर हेर्दा हामी बसेको क्याम्पको छाना तैरीरहेको देखें (भिडियो हेर्नुस्)

काठमाडौ । मंगलवार देखि वर्षा भइरहेको थियो । टनेलमा पानी भरिएकाले ११ वजे बन्द गर्ने कुरा थियो । ५ वजेतिर खोला निकै धेरै पानी आयो । ६ वजे हामीले खाना खायौं । म्यानेजरले म एक पटक हेरेर आउँछु भनेर जानुभयो । उहाँ आएर अब बाढी आउँछ की भन्ने आशंका लागेर होला अब छिटै सामान हटाउनुपर्छ भन्नुभयो । हामी सामान हटाउँदै थियौं अचानक भुकम्पले भत्काएजस्तै बसेको ठाउँ नै चिरा पर्यो ।

त्यतिजेल हाम्रो क्याम्प भत्काउन सुरु गरिसकेको थियो । हामी राती १० वजे सबै सामान हटाउनुपर्छ भनेर त्यसैमा लागेका थियौं । हाम्रो अर्को क्याम्प माथि पनि थियो । अब माथिल्लो क्याम्पमा जानुपर्छ भनेर गाडीको चालकलाई फोन गरेँ । चालकको फोन उठेन त्यही बेला निकै ठूलो आवाज आयो । अब केही ठूलै घटना हुँदैछ भन्ने भान दिने खालको आवाज आयो । हामि केही नसोचेर अब भाग्नु पर्छ भनेर भाग्नु थाल्यौं ।

हामी पछाडी पनि नफर्कदै भाग्दै गर्दा एक जना मानिस भिर तिर गएको देखेँ । मलाई भिरतिर गयो भने बाँचिन्छ भन्ने लाग्यो । हामी सबै भिरमा चढ्न थाल्यौं त्यती बेला कम्मर सम्म पानी आइसकेको थियो । धेरै मानिस चिच्याइरहेका थिए । एक पटक पुलुक्क पछाडी फर्केर हेर्दा हामी बसेको क्याम्पको छाना तैरीरहेको देखें । कति क्षती भयो भन्ने अनुमान नै लगाउन सकेका थिएनौं ।

त्यती बेला मैले मेरा साथी सबै गए भन्ने लागेको थियो । तर धेरै साथी भागेर बाँच्नु भएको रहेछ । म भन्दा पछाडी रहेका साथी पनि संगसंगै आउनु भएको थियो । माथि पुग्दा हामीसंगै कामगर्ने कामदार लुगा विहिन हुनुहुन्थ्यो । तर मुस्किलले बाँचेर आउनु भएको रहेछ । मैले लगाएको ज्याकेट खोलेर उहाँलाई लगाउन दिएँ । लागंटागं राष्ट्रिय निकुञ्जको भिर हुँदै हिडेका थियौं ।

Related Articles

Back to top button