ज्वाला संग्रौलालाई तीन दिन थुनामै राख्न प्रशासनको अनुमति
आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला भन्ने (टीका संग्रौला) सहित तीन जनालाई तीन दिन थुनामा राख्न प्रशासनले अनुमति दिएको छ।
आइतबार पक्राउ परेका संग्रौलासहित हिमाल उपाध्याय र शर्मीला वाइवालाई म्याद थपका लागि प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार पेस गरेको थियो।
उनीहरुलाई तीन दिन थुनामा राख्न प्रशासनले अनुमति दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले बताए।
आफूलाई ‘सामाजिक अभियन्ता’ दाबी गर्ने ज्वाला संग्रौला र उनको समूहले अराजक गतिविधि गरेको आरोप छ।
केही दिन पहिले प्रहरी सहायक निरीक्षक मणिकान्त झाविरुद्ध जातीय विभेदयुक्त अभिव्यक्ति दिएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको छ।
उनीहरुले राजनीतिक कार्यकर्ता खुश्वु घिमिरेमाथि प्रहरी कार्यालयमै कुटपिट गरेका थिए। घिमिरेले उनीहरुविरुद्ध जाहेरी दिएकी थिइन्।
यी दुवै मुद्दामा प्रहरीले अनुसन्धान थालेको छ। उनीहरुविरुद्ध मधेसी आयोगमा पनि उजुरी परेको थियो। अहिले उनीहरुलाई काठमाडौं परिसरको हिरासतमा राखिएको छ।