काठमाडौं- सिन्धुपाल्चोकको मेलम्ची नदीमा पानीको बहाव कम भएपछि स्थानीय र सुरक्षाकर्मीले डुबान क्षेत्रका घरबाट सामान निकाल्न सुरु गरेका छन्।
बिहान ११ बजेबाट सुरक्षाकर्मीको सहायतामा स्थानीयले डुबानमा परेका करिब १५० घर र पसलबाट सामान निकालिरहेका छन्। डुबानमा परेका घरभित्रका अधिकांश सामान काम नलाग्ने अवस्थाका छन्।
बिहीबार मध्यान्हबाट सामान निकाल्न सुरु गरे पनि पुनः बाढी बढेपछि स्थानीयको भागाभाग मच्चिएको थियो। सुरक्षाकर्मीले बिहीबार दिउँसो मेलम्चीको नयाँ बजार क्षेत्रलाई सिल गरेको थियो।
मंगलबार राति आएको बाढीबाट मेलम्ची नगरपालिकामा मात्रै ६०० परिवार प्रभावित भएका छन्। नगरपालिकाको मात्रै ३० करोडको सम्पत्ति बगाएको छ भने स्थानीयको घर र जमिन जोड्दा ३० अर्बभन्दा बढीको क्षति भएको मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले नेपाल समयलाई जानकारी दिए।