News

अझै तीन दिन भारी वर्षा : यी हुन् प्रभावित हुने नदी र जिल्ला

काठमाडौँ – जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन देशका अधिकांश भागमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ । धेरै वर्षा हुने भएकाले महाशाखाले केही स्थानमा बाढी र पहिराको खतरा औँल्याएको छ ।

महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार मनसुनी वायु सक्रिय भएकाले अहिले देशभर पानी परिरहेको छ । यो वायुको प्रभावले आगामी शनिबारसम्म नै देशका अधिकांश भागमा भारी वर्षा हुने सम्भावना देखिएको छ ।

‘मनसुनी वायुको प्रभावले अहिले देशका अधिकांश भागमा अहिले वर्षा भइरहेको छ,’ बासीले भने, ‘यो वायुको प्रभावले आगामी शनिबारसम्मै देशका अधिकांश भेगमा भारी वर्षा हुने योग छ । त्यसपछि भने यो क्रममा ब्रेक लाग्नेछ ।’

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिनभर र राति कर्णाली, वाग्मती प्रदेशमा भारी र लुम्बिनी तथा गण्डकी प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने सम्भावना छ । त्यसैले महाशाखाले यी क्षेत्रमा बाढी पहिराको खतरा औँल्याएको छ ।

‘कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशको केही भूभागमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको हुनाले उक्त प्रदेशका पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाको बुलेटिनमा उल्लेख छ । महाशाखाको नियमित बुलेटिनअनुसार, वर्षाको यो क्रमले बिहीबार र शुक्रबार पनि देशभरि निरन्तरता पाउनेछ ।

पछिल्लो २४ घण्टामा धेरै पानी पर्ने स्थानको पहिलो नम्बरमा पोखरा दरिएको छ । महाशाखाका अनुसार, यहाँ ११०.५ मिलिलिटर पानी परेको छ । पोखरापछि भैरहवामा सबैभन्दा धेरै ८२.२ मिलिलिटर पानी पर्‍यो । महाशाखाका अनुसार काठमाडौंमा पछिल्लो २४ घण्टामा १२.४ मिलिलिटर मात्र पानी परेको छ ।

कुन नदी र जिल्ला प्रभावित

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाको बुलेटिनअनुसार बिहीबार बिहानको मापन अनसार बदिगाड रुद्राबेनी र सुनकोशी दोलालघाट जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको छ। कन्काई, कोशी, बागमती, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाब बढ्दो क्रममा छ तथा सबैमा बहाव सतर्कता तहभन्दा तलै रहेको छ।

बिहीबार कोशी, नारायणी, कर्णाली र महाकाली जलाधारका केहि स-साना सहायक नदीमा क्षणिक मध्यम/भारी बर्षा भई बहाब बढ्ने र केही स-साना नदीमा आकस्मिक बहाब भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ। आज कन्काई, कमला, बागमती र यसका सहायक नदीमा बहाब सामान्य घटबढ हुने तथा सतर्कता भन्दा तलै हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिम राप्ती, तिनाउ, बबईका स-साना नदीजलाधारमा बहाब बढ्दो हुने र केहीमा सतर्कता तह पुग्न सक्ने पूर्वानुमान छ।

आज बागमती प्रदेशको दोलखा, रामेछाप, रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, काठमाडौं, चितवन, मकवानपुर, गण्डकी प्रदेशको गोरखा, मनाङ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, स्याङ्गजा, लुम्बिनी प्रदेशको प्यूठान, दाङ, बाँके, बर्दिया, रुकुम, कर्णाली प्रदेशको सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, दैलेख, कालिकोट, हुम्ला, सुदूरपश्चिम प्रदेशको कंचनपुर, कैलाली, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र आसपास जिल्ला भई बहने स-साना नदीजलाधारमा बहाव उल्लेख्य बढ्ने र केहिमा आकस्मिक वहाव भई सतर्कता आसपास पुग्न सक्ने पुर्वानुमान छ।

Related Articles

Back to top button