प्यूठानमा निर्माणाधिन पक्की पुल भत्कियो (फोटो फिचर)
प्यूठान। प्यूठानको माझिदमार र अर्घाखाँचीको चेउखोला जोड्ने झिमरुक नदि माथी बन्दै गरेको मोटर गुड्ने पुल भत्किएको छ। बुधबार बिहान चार बजेतिर पुल भत्किएको स्थानीयले बताएका छन् ।
पुललाई थामेका टेका पानीको बहाबले बगाइदिँदा पुल कमजोर भई भत्किएको सडक डिभिजन कार्यालय प्यूठानका ईन्जीनियर अरुण केसीले जानकारी दिनुभयो । उहाले भन्नुभयो, ‘४ दिन अघि ढलान भएको ३५ मिटर पुलको स्ल्याप भाँचिएर नदिमा खसेको छ।’उहाँका अनुसार प्रिस्ट्रेसिङ प्रविधिबाट निर्माणाधीन पुल ढलान गरिएको चार दिन मात्रै भएको थियो ।
त्यसको १४ दिनपछि बिममा जडित लट्ठा तान्नुपर्ने थियो । संघिय सरकारबाट विनियोजित ७ करोड १२ लाख रुपियाँमा निर्माण सम्झौता भएको डबल स्पानको ११ मिटर चौडाई र ७० मिटर लम्बाइको पुल निर्माणको अन्तिम चरणमा पुगेको थियो । आउँदो भदौभित्र गाडी सञ्चालन गर्ने लक्ष्यसहित धमाधम काम भइरहेका बेलामा यस्तो घटना भएको इन्जिनियर केसीले बताउनुभयो।
आर्थिक बर्ष २०७४/७५ मा ठेक्का सम्झौता भएको उक्त पुलको सम्झौता अवधि आउँदो असार २८ गते सकिदै थियो। अमर कन्ट्रक्सन प्रालीले पुल निर्माणको काम गरिरहेको थियो । पुल निर्माणपछि आउजाउमा सहज हुने आशा गरेका स्थानीयले यस वर्षामा पनि जोखिम मोल्नुपर्ने भएको छ ।