सिजीको इन्ट्रीसँगै इन्टरनेटको प्रतिस्पर्धा नयाँ दिशामा, स्पिड बढाउँदै मूल्य घटाउँदै हेर्नुहोस यति सम्म रेट गिराए…
काठमाडौं। सिजी इन्टरनेटले बजार मूल्यभन्दा आधा सस्तोमा दोब्बर स्पिडको इन्टरनेट दिन सुरु गरेसँगै नेपालको इन्टरनेट बजारमा नयाँ तरङ्ग उत्पन्न भएको छ । सिजी नेटको इन्ट्रीसँगै सेवाप्रदायकहरु स्पिड बढाउने र मूल्य घटाउने होडमा देखिएका हुन्।
त्यसो गत पछिल्ला केही महिनादेखि सस्तो मूल्यमा सिजी नेट बजारमा आउने चर्चा चल्न थालेको थियो । त्यससँगै इन्टरनेट सेवाप्रदायकहरुले एकपछि अर्को आकर्षक प्याकेजहरु सार्वजनिक गर्न थाले।
वर्ल्डलिङ्कले ७९९ रुपैयाँमा आईपीटिभीसहित सस्तो इन्टरनेट प्याकेज बजारमा ल्यायो । लगत्तै क्लासिक टेकले त्यसलाई काउन्टर दिँदै ७९९ रुपैयाँमै २० एमबीपीएस इन्टरनेटसहित आईपी टिभी सार्वजनिक गर्यो।
त्यस्तै भायनेटले नेपालमै पहिलो पटक १०० एमबीपीएस गतिको इन्टरनेट (तीन वटा भायटिभी सहितको वार्षिक प्याकेज २१ हजार ६०० रुपैयाँमा) अफर सार्वजनिक गर्यो।
उसले ६० एमबीपीएस प्याकेजलाई सोही मूल्यमा १०० एमबीपीएस पुर्यायो । त्यसलाई समेत काउन्टर दिन क्लासिक टेकले सोही अनुसारको प्याकेज १८०० रुपैयाँमा उपलब्ध घोषणा गर्यो।
बजारमा आफूलाई अब्बल देखाउने सिजीले भने एक कदम अगाडि बढ्दै गएको १८ जेठमा चल्तिको मूल्यभन्दा आधा सस्तोमा थप स्पिड सहित १२० एमबीपीएस गतिको इन्टरनेट ल्यायो । सिजीको इन्ट्रीसँगै इन्टरनेट बजारले नयाँ दिशा समातेको छ।
अब सेवाप्रदायकहरु सस्तो मूल्यमा कम स्पिडको इन्टरनेटको ठाउँमा कम मूल्यमा बढी स्पिड दिने प्रतिस्पर्धामा देखिएका छन् । मासिक ६०० रुपैयाँमा डिशहोम टिभी प्रयोग गरिरहेका ग्राहकका लागि भन्दै डिशहोमले १० एमबीपीएस इन्टरनेट निःशुल्क गरेको छ भने मासिक २३३ रुपैयाँमा ३० एमबीपीएस इन्टरनेट अफर गरिरहेको छ।
यति मात्र होइन, डिशहोम फाइबर नेटले अब २०० एमबीपीएस गतिको इन्टरनेट ल्याउने घोषणा गर्न समेत भ्याइसकेको छ । मूल्यका हिसाबले समेत उक्त प्याकेज आकर्षक हुने कम्पनीले जनाएको छ।
पछिल्लो समय सरकारी स्वामित्को दूरसञ्चार कम्पनी नेपाल टेलिकम समेत इन्टरनेट सेवाप्रदायकहरुबीचको प्रतिस्पर्धामा उत्रेको छ। फाइबरमा इन्टरनेटसँगै आईपीटिभी र टेलिफोन सेवा दिइरहेको कम्पनीले सँगसँगै मोबाइल डेटा समेत निःशुल्क दिन थालेको छ।
कम्पनीले भर्खरै मात्र २० एमबीपीएस गति माथिको एफटीटीएच इन्टरनेट प्रयोगकर्तालाई दैनिक ३०० एमबी मोबाइल डेटा निःशुल्क दिने बताएको हो।