News

कतारमा नियमित उडान, भाडादर किन यति महंगाे?

नेपाल सरकारले कतार लगायत टर्की र चीनको लागि भनेर जुन ७ देखि नियमित उडान सञ्चालन गर्‍याे । लामो समयदेखि वैदेशिक रोजगारीमा जान रोकिएकाहरु उत्साहित भए । कतार, टर्की लगायत यी देशमा ट्रान्जिट भएर अन्य गन्तव्य देश जान पर्खिरहेका नेपाली श्रमिकमा खुसी छायो । हप्तामा दुई वटा मात्रै हुने भए पनि नियमित उडान भनेपछि पहिलेकै भाडादरमा जान पाइने भो भनेर ढुक्क भए । तर जब नियमित भनिएको उडानको लाखौं रुपैयाँ भाडादर सुने तब छाँगाबाट खसेझैंँ भए ।

कतार जानको लागि महिनादिन देखि पर्खेर बस्नुभएका धनुषाका जीवन साहलाई पनि यस्तै भयो । कतार जाने भनेर दुई महिनादेखि काठमाण्डौमा साथीको कोठामा बस्दै आउनुभएका उहाँ नियमित उडान खुले पनि जान पाउनुभएको छैन । आफूले पहिलेकै भाडादरमा जान भनेर पैसाको जोहो गरेको तर अहिले भाडादर महंगो भएका कारण आफू जान नसकेको उहाँ बताउनुहुन्छ ।

‘एअरलाइन्समा बुझेको, एक लाख बीस हजार रुपैयाँ भाडा भन्छ, मसँग त पचास हजार मात्रै छ, कसरी जाने ?’, उहाँले भन्नुभयो, ‘पहिले त म तीस हजारमा गएको, चार्टड उडानको जति महंगो तिरेर त हामी जान सक्दैनौं ।’

अहिले कतार एअरवेज र नेपाल एअरलाइन्सले कतारको लागि हप्तामा एक एक वटा उडान गरिरहेका छन् । यसरी हप्तामा दुईवटा उडान मात्रै सञ्चालनमा छन् । सीमित उडान र जाने यात्रु धेरै हुँदा भाडादरमा एअरलाइन्सको मनपरी भएको आरोप लाग्ने गरेको छ । कतार र नेपालबीच नियमित उडान सुरु भयो भनिए पनि यो कुरा निर्णयमा मात्रै सीमित रहेको भन्दै गुल्मीका कुशल केसी उज्यालोको फेसबुक पेजमा आक्रोश पोख्नुहुन्छ । आफूले जति प्रयास गर्दा पनि सामान्य भाडादरमा टिकट नपाएको उहाँको भनाइ छ ।

‘ट्राभल एजेन्सीहरुले सीट छैन भन्छ, तर उनीहरुले भनेजति भाडा तिर्न सक्ने भए मात्र टिकट उपलब्ध गराइदिने रहेछन्’, कुशल भन्नुहुन्छ, ‘यसरी दिने टिकटको मूल्य डेढलाखसम्म भन्छन्, एजेन्सी र सरकारी कर्मचारी मिलेर कालोबजारी गरेको जस्तो लाग्छ ।’

‘श्रमिकको लागि उडान खोलेकै होइन !’

वैदेशिक रोजगार व्यवसायी महासंघका अनुसार अहिले ६० हजार भन्दा बढी नेपाली श्रमिक कतार, साउदी, यूएई, ओमान लगायतका देशमा जानको लागि भिसा लिएर बसेका छन् । तर सीमित देशको लागि सीमित उडान खुल्दा यसले यात्रुहरुलाई धान्न सकिरहेको अवस्था छैन ।

महासंघका अनुसार वैदेशिक रोजगारीमा कतार जानको लागि अहिले नै ३० हजारको हाराहारीमा श्रमिकहरु छन् । हप्तामा दुईवटा उडानले त्यति धेरै यात्रुलाई लैजान सक्ने अवस्था छैन । त्यसमा पनि युरोपेली लगायत देशको लागि कतार ट्रान्जिट भएर जाने यात्रुहरु धेरै हुन्छन् ।

नेपाल सरकार अन्तर्गत पर्यटन मन्त्रालयले अहिलेको अवस्थामा वैदेशिक रोजगारीमा जानेहरुलाई पनि सहज होस् भनेर कतारको लागि उडान खोलेको बताए पनि श्रमिकहरुलाई यसले छोएको देखिँदैन । महँगो भाडादर र वैदेशिक रोजगारीमा जानेहरुको लागि भनेर अलग्गै व्यवस्था नभएका कारण श्रमिकहरुलाई ‘आकाशको फल आँखा तरी मर’ भनेजस्तै भएको लोकतान्त्रिक वैदेशिक रोजगार संघका अध्यक्ष भवानी निरौला बताउनुहुन्छ ।

‘नियमित उडान खुले भने पनि वैदेशिक रोजगारीमा जानेहरु एकदमै नगन्य छन्, श्रमिकको लागि भनेर उडान खुलाएकै हैनन्’, निरौला भन्नुहुन्छ, ‘जसले पहिले टिकट काट्यो उही जाने हो, एअलाइन्सहरुले महंगो भाडा तोकेको छ, यति महंगो भाडा तिरेर सामान्य कामदार कसरी जान सक्छन् ?’

वैदेशिक रोजगार व्यवसायीहरु यस विषयमा लागिरहेको रोजगार संघका अध्यक्ष निरौला बताउनुहुन्छ । ‘हप्तामा कम्तीमा पनि तीनओटा एअरलाइन्सका तीन तीन ओटा उडान गरौं भनेर हामीले मन्त्रालयमा कुरा राखेका छौं’, उहाँले भन्नुभयो ।

‘महंगो भाडा लिनेलाई कारबाही हुन्छ’

एअरलाइन्सहरुले महंगो भाडादर लिइरहेको बारेमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय आफै जानकार छ । आफूहरुले यस विषयमा जानकारी पाएको र यस्तो गर्नेलाई कारबाहीको दायरामा ल्याउन नागरिक उड्ययन प्राधिकरणलाई निर्देशन दिएको मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारी बताउनुहुन्छ ।

‘एअरलाइन्सहरुको नियामक निकाय नागरिक उड्ययन प्राधिकरणलाई हामीले सूचीत गरेका छौं, के गर्नुपर्ने हो उहाँहरुले नै हेर्नुहुन्छ’, प्रवक्ता अधिकारीले भन्नुभयो । मन्त्रालयले थप उडान खोल्ने बारेमा छलफल गरिरहेको पनि उहाँको भनाइ छ ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री आफूहरुले कतार एअरवेजलाई टिकट महंगो भयो रेट दिनुस् भनेर चिठी पठाइसकेको र उताबाट पनि यति नै हो भनेर पठाएको बताउनुहुन्छ । उज्यालो अनलाइन बाट

Related Articles

Back to top button