News

उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने योजना, नयाँ मोडालिटी ल्याइने

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा फेरि थपिने भएको छ ।

कोरोना संक्रमण घटे पनि संक्रमण हुनसक्ने जोखिम कायमै रहेकाले निषेधाज्ञा एकसातादेखि १५ दिनसम्म थप्ने तयारीमा उपत्यकाका तीनओटै जिल्ला प्रशासनहरु रहेका छन् । तर अब थप हुने निषेधाज्ञा विगतको भन्दा केही खुकुलो हुने बताइन्छ ।

निषेधाज्ञा असारदेखि खुकुलो बनाउने तयारीमा उपत्यकाका तीन प्रशासन कार्यालय जुटेका छन् । काठमाडौं उपत्यकामा कोरोना महामारी रोकथाम गर्न डेढ महिनाभन्दा निषेधाज्ञा लगाइदै आएको छ ।

उपत्यकाको संक्रमणदर घट्दै गएकोले अब जनजीवनमा सहजीकरण गर्दै लैजानुपर्ने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताउनुहुन्छ । तर निषेधाज्ञा एकैपटक नखोली चरणवद्ध रुपमा खुकुलो बनाउँदै लैजानुपर्ने उहाँको सुझाव छ । यस्तै उपत्यकाका सवारी आवागमन हुने नाकामा कडाइ गरिनुपर्नेमा उहाँको जोड छ ।

एकै पटक निषेधाज्ञा खुकुलो पार्दा फेरी संक्रमण फैलिने सक्ने जोखिम रहेकाले गृह मन्त्रालयले भने तत्काल निषेधाज्ञा हटाउन नहुनेमा जोड दिएको छ । तर जिल्ला प्रशासन कार्यालय निषेधाज्ञा खुकुलो पार्दै जनजीवन सहज बनाउनु पर्नेमा सकारात्मक देखिएका छन् । तर, कुन–कुन क्षेत्रमा खुकुलो बनाउने भन्नेबारे थप निर्णय नभइसकेको र निरन्तर सरोकारवालाहरुसँग छलफलमै रहेको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताउनुभयो ।

जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को शुक्रबार बसेको बैठकले अझै एक साता निषेधाज्ञा थप गर्ने सुझाव दिएको छ । त्यही सुझाव अनुसार निषेधाज्ञा एकसाता थप गर्ने तयारी प्रशासनको छ ।

प्रशासनका अधिकारीको भनाइ अनुसार विकास निर्माणलाई प्राथमिकतामा राखेर सञ्चालन गर्न दिने तयारी छ । जेठ ३१ गतेसम्मको निषेधाज्ञामा बिहान ९ बजेसम्म खाद्यान्न तथा पसल र तरकारी पसल खुल्दै आएका छन् । अब यसलाई केही फेरबदल गरी १० बजेसम्म खुलाउन दिइने छ ।

निजी सवारी साधन जोरबिजोर लागु गरिनेछ । तर, सवारीमा आवतजावतमा पूर्ण स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ । व्यवासायिक गतिविधि लामो समयदेखि ठप्प रहेकाले बजार पसल खुला गर्ने नयाँ नियम जारी हुने मोडालिटी ल्याइनेछ । भाडा पसल, पुस्तकालय, कस्मेटिक्स, फेन्सी पसलहरुका लागि समय तोकिनेछ । यस विषयमा निर्णय गर्न उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठक आज बस्दै छ ।

पछिल्लो पटक थप गरिएको निषेधाज्ञा भोलि ३१ गते सोमबार राति १२ बजे सकिँदैछ ।

Related Articles

Back to top button