कहिले देखि खुल्छन नेपालमा आन्तरिक उडानहरू ? हेर्नुहोस्
वायुसेवा सञ्चालक सङ्घ, नेपालले कोरोनाभाइरस सङ्क्रमण घट्न थालेको भन्दै आन्तरिक उडानहरू खोल्नुपर्ने माग गरेको छ।सङ्घले विभागीय मन्त्रीलाई सम्बोधन गर्दै लेखेको पत्रमा आउँदो असार १ गतेबाट आन्तरिक हवाई उडानहरू पुनः सञ्चालनमा ल्याउन आग्रह गरिएको छ।आन्तरिक उडान खुला गर्नुपर्ने मागबारे आफूहरू पनि सकारात्मक रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरू बताउँछन्।
“जनस्वास्थ्यका मापदण्डहरू पालना गरेर आन्तरिक उडानहरू अब शुरू गर्न सकिन्छ कि भन्ने विषयमा हाम्रो पनि एक किसिमको सकारात्मक धारणा रहेको छ र त्यो बारेमा हामीले मन्त्रालयमा छलफल पनि गरेका छौँ,” नागरिक उड्डयन तथा हवाई महाशाखाका सह-सचिव बुद्धिसागर लामिछानेले बीबीसीसँग भने।तर त्यसअघि जोखिम र सुरक्षा लगायतका विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयदेखि सङ्क्रामक रोग विशेषज्ञसम्मका राय पनि हामीले बुझ्नुपर्ने हुन्छ।”
कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले मन्त्रिपरिषद्लाई गर्ने सिफारिसका आधारमा सरकारले महामारीबीच उडान सञ्चालन तथा स्थगनबारे निर्णय गर्दै आएको छ।”आन्तरिक उडानहरू पुनः सञ्चालन गर्नुपर्ने विषयमा हाम्रो मन्त्रालयको तर्फबाट सीसीएमसीमा औपचारिक प्रस्ताव लैजाने तयारी छ,” सह-सचिव लामिछानेले भने।कहिलेदेखि आन्तरिक उडानहरू सञ्चालनमा आउँछन् भन्ने विषयमा अहिले नै भन्न सक्ने अवस्थामा पुगी नसकेको उनले बताए।”सैद्धान्तिक हिसाबमा ल यसो गरौँ भन्ने भएपछि आन्तरिक उडान तयारीका लागि दुई-तीन दिन भए पुग्छ,” लामिछानेले थपे।
वायुसेवा सञ्चालक सङ्घ के भन्छ?
नेपालका वायुसेवा सञ्चालकहरूले आन्तरिक हवाई उडान सञ्चालनका लागि यसै साता नागरिक उड्डयन मन्त्रालयसमक्ष औपचारिक रूपमै आग्रह गरेका छन्।”खोल्ने बित्तिकै महामारीभन्दा अघिको जस्तै यात्रुहरूको चाप हुने कुरा हुँदैन। अहिले धेरै जरुरी परेर मात्रै यात्रा गर्ने हुन्छन्,” सङ्घका महासचिव मनोज कार्कीले बीबीसी न्यूज नेपालीसँग भने।उडान तथा त्यसको तयारीका क्रममा जनस्वास्थ्यसम्बन्धी सबै मापदण्डहरू कडाइका साथ पालना गरिने भएकोले चिन्ता लिन नहुने वायुसेवा सञ्चालकहरूको तर्क छ।