उदयपुरका एक दम्पती इटहरीमा मृत भेटिए
शनिबार बिहान इटहरी २० तरहरामा श्रीमान श्रीमती मृत फेला परेका छन् । इटहरी १९ र २० मा पर्ने खार्साला खोलामा श्रीमान, श्रीमती नै मृत फेला परेका हुन् ।
इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठका अनुसार उदयपुरको रौता गाउँपालिका ३ मजौ घर भइ हाल तरहरामा कोठाभाडामा बस्दै आएका २५ वर्षीय हेमशेर राई र २२ वर्षीया शर्मिला राई मृत फेला परेका हुन् ।
‘रातको अन्दाजी ११ बजे स्थानीय खार्साला खोलामा माछा मार्न जाने क्रममा करेन्ट लागेको अनुमान गरिएको छ,’ उनले भने, ‘तीन वर्षीया छोरीलाई सुताएर राति खोलामा करेन्ट लगाइ माछा मार्न जाँदा करेन्ट लागेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’ उनका अनुसार शर्मिलाको शरीरमा करेन्ट लागेर नीलडाम छ । मजदुरी गर्दै आएका उनीहरुका तीन वर्षीया छोरी छन् । माछा मार्न जाँदा बिजुलीको तारबाट करेन्ट लागेको हुनसक्ने अनुमान गरिएको छ ।
स्थानीयका अनुसार यहाँको रोयल फर्निचरमा करीब दुई वर्ष अगाडिदेखि काठ ‘मिस्त्री’ को काम गर्दै आएका उनीहरु शुक्रबार अबेलासम्म सुतेका थिएनन् । रातको १२ बजेतिर छोरी रोएपछि ब्यूँझिएका स्थानीयले छोरीलाई कोठामा एक्लै भेटेका थिए । तर, रातको समय भएकाले खोजी नगरिएको र यतै कतै होलान् भनेर वास्ता नगरिएको घटनास्थलमा भेटिएका एक स्थानीयले बताए । राजधानी दैनिकबाट