काठमाडौँको नयाँ बसपार्कमा बिहान र बेलुका निःशुल्क खाना वितरण
युवाहरूको सक्रियतामा काठमाडौँ नयाँ बसपार्क, माछापोखरीमा बिहान र साँझ निःशुल्क खाना वितरण सुरु गरिएको छ । कांग्रेसका नेता भुपेन्द्रजंग शाही, ऋषि कोइराला, सुबास कट्टेललगायतले निःशुल्क खाना वितरण गरेका हुन् ।
उनीहरूले सुरु गरेको निःशुल्क खाना वितरण कार्यक्रम आज छैटौँ दिन पुगेको छ । उपत्यकामा बसोबास गर्ने लकडाउनमा समस्या परेका नागरिकहरूलाई खाना वितरण गरिएको हो ।
जेठ २१ गतेबाट सुरु गरिएको अभियान अन्तर्गत आजसम्म बिहान र साँझ गरी २५ सय बढी व्यक्तिहरूलाई खाना वितरण गरिएको शाहीले बताए । निःशुल्क खाना अभियान निषेधाज्ञाभर चल्नेछ ।
६ ओटा प्रदेशका ५० जिल्लामा सञ्जाल विस्तार भइसकेको विपी स्टडी युथ सर्कल नेपाली काङ्ग्रेसको भातृ संस्था हो । यस संस्था अन्तरगत नेपालका विभिन्न प्रदेशमा विगत १ महिना देखि विभिन्न सहयोगात्मक कार्यहरु सञ्चालन हुँदै आइरहेका छन् । जसअन्तरगत निःशुल्क खाना, राहतमूलक खाद्य सामाग्री, निःशुल्क औषधी वितरण लगायत छन् ।
यस अभियानलाई शशक्त रुपमा अघी बढाउन काठमाडौंका सुमन गिरी, नुवाकोटका सुवास पुरी, लुम्बिनी प्रदेशका लक्ष्मण गौतम लगायतका व्यक्तिहरुले निकै महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको समेत अध्यक्ष कोइरालाले बताउनुभयो ।
साथै सर्कलले शुरु गरेको अभियानबाट प्रभावित भई थुप्रै युवाहरु स्वतस्फूर्त रुपमा आफूहरुका सामाजिक गतिविधिहरुमा संलग्न हुने क्रम बढ्दै गएको र विभिन्न तवरले सामाजिक क्रियाकलापमा सक्रिय रहन प्रोत्साहन मिलेको कोइरालाको धारणा छ ।
स्मरण रहोस्, विपी स्टडी युथ सर्कल प्रजातान्त्रिक सोचका धनी व्यक्तित्व विपी कोइरालाको विचार समर्थक व्यक्तिहरु संलग्न रहेको संस्था हो । उक्त संस्थाको उद्देश्य विपी कोइराला मूलतः विपी कोइरालाका विचार, दर्शन, ज्ञान, सोच र सिद्धान्तलाई युवाहरु माझ विस्तार गर्ने रहेको छ । यसको अलावा यो संस्थाले विभिन्न सामाजिक गतिविधिहरुमा समेत सक्रिय रहँदै आएको छ ।