खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राई अहिले गाउँमा रहेका संक्रमितलाई आइसोलेसन पुर्याउन पिपिई लगाएर आफैं अघि सर्छन्। गाउँका मान्छेहरू पनि अप्ठेरो पर्यो कि उनै अध्यक्षलाई फोन गर्छन्।गत जेठ १४ गते गाउँपालिका-२ डाँडागाउँस्थित होम आइसोलेसनमा रहेकी एकजना संक्रमित महिला बेहोस भइन्। लगत्तै परिवारले गाउँपालिकाको एम्बुलेन्सलाई सम्पर्क गरे। तर एम्बुलेन्स बिग्रिएकाले आउन नसक्ने भन्दै चालकले जवाफ दिए।
एम्बुलेन्स नपाएपछि बिरामीका परिवार झन् अत्तालिए। त्यसपछि उनीहरूले सिधै अध्यक्ष राईलाई फोन गरेर आफ्ना समस्या सुनाए। अध्यक्ष राईले पनि एम्बुलेन्स चालकलाई फोन गरे तर चालकले एम्बुलेन्स बनिनसकेको जवाफ दिए।एम्बुलेन्स नपाउने भएपछि अध्यक्ष राईले परिवारलाई बिरामी लिन आफैं आउने भन्दै नआत्तिन सान्त्वना दिए। त्यसपछि पिपिई सेट लगाएर अध्यक्ष राई एकजना स्वास्थ्यकर्मीसहित आफूले चढ्दै आएको गाडी लिएर बिरामी लिन हुइँकिए। तर गाडी बिरामीको घरसम्मै पुग्न सक्थेन। त्यसैले उनले गाडी बाटोमै रोके अनि हिँडेरै बिरामी भएकहाँ पुगे।
बिरामीको अवस्था हेर्दा जतिसक्दो चाँडो अस्पताल पुर्याउनु पर्ने देखिएपछि कसरी बाटोसम्म पुर्याउने भनेर गन्थन हुनथाल्यो। अध्यक्ष राईले यस्तो बेला अलमल गर्न नहुने भन्दै आफैंले बिरामी बोक्ने भनेर कस्सिए।
बिरामी बेहोस थिइन्। जतिसक्दो चाँडो अस्पताल पुर्याउनु थियो। तर पिपिई लगाएकोमध्ये एकजना स्वास्थ्यकर्मी र म मात्र थियौं। त्यसैले आफैं बिरामीलाई बोक्छु भनेर अघि सरे,’ अध्यक्ष राईले सेतोपाटीसँग भने, ‘स्वास्थ्यकर्मी र सेनाले पिपिई लगाएरै संक्रमितको उपचार र दाहसंस्कार गरिरहेका छन्। अनि उहाँहरूलाई संक्रमण सर्दैन भनेपछि हामी जनप्रतिनिधिलाई पनि त सर्दैन होला भनेर कर्तव्य ठानेर आफैं बिरामी बोकेर अस्पताल पुर्याउने काम गरें।’