लकडाउन थप कडा गर्न विज्ञहरुको सुझाव
नेपालमा कोरोनाको दोस्रो लहर देखिएसँगै निषेधाज्ञा जारी भएको डेढ महिना पुग्दै छ । सङ्क्रमणदर अपेक्षित रुपमा नघटेको कारण विनाकाम बाहिर हिड्डुल गर्न कडाइ गरिएको छ ।छिमेकी देश भारतको नयाँ दिल्ली लगायत शहरमा कोरोनाको दर ओरालो लागेसँगै निषेधाज्ञा खोल्ने बताइएको छ । यसैबीच नेपालमा निषेधाज्ञा कहिले खुल्छ भन्ने आममानिसको चासो बढेको छ ।
जनस्वास्थ्य विज्ञ र सरोकारवाला निकायहरुले निषेधाज्ञालाई धेरै लामो समयसम्म लैजान नहुने बताएका छन् ।शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा.शेरबहादुर पुन जारी निषेधाज्ञालाई केही हप्ता कडा गर्ने र मापदण्ड अपनाएर खुला गर्नुपर्ने बताउनुहुन्छ ।
सरकारले सुरुको चरणमा निषेधाज्ञा लगाउन अलि ढिला र कोरोना परीक्षणदर कमी गरेकोले पनि अपेक्षित नतिजा आउँन नसकेको उहाँ बताउनुहुन्छ ।
विगतको समीक्षा गर्दै कोरोना परीक्षण दर बढाउने र जारी निषेधाज्ञालाई केही समय कडाई गरेमा कोरोनाको सङ्क्रमणदर घट्ने उहाँको विश्वास छ ।
अव कोरोनाको दर विस्तारै ओरोलो लागेकोले आममानिसले पनि जनस्वास्थ्यका मापदण्ड पालना गरेमा सङ्क्रमण हवात्तै कमी आउने जनस्वास्थ्य विज्ञ पुन बताउनुुहुन्छ ।