News

विदेशी आकाशमा उड्ने एयर होस्टेज नेपाली ‘परी’हरुको कथा

काठमाडौं वसन्तपुरकी सुमीका बज्राचार्य टेलिभिजनमा समाचार पढ्थिन् । यसबाहेक उनले व्यापारिक वस्तुहरूको विज्ञापनमा मोडलिङ पनि गरिन् । यतिले पनि उनको चित्त बुझेन् । मिस नेपालको प्रतिस्पर्धामा उत्रिइन् । रंगिन दुनियाँमा रमाइरहेकी उनलाई लाग्थ्यो– ‘रुचिका यिनै विषयलाई मैले मेरो जीवनको मार्ग बनाउनुपर्छ ।’ सुमीकाको योजना समयलाई मञ्जुर भएन् । समयको आँधीले उनलाई कल्पनासम्म नगरेको पेशामा हुत्याइदिएको छ ।

सुमीका अहिले पाँचसय यात्रु बोक्ने एयर बसमा सुपरभाइजर एयर होस्टेज छन् । फर्स्ट क्लास र बिजनेस क्लासका यात्रुहरूको खातिरदारी गर्दै उनी संसारभर घुमिरहेकी हुन्छिन् । दिनैपिच्छे नयाँ-नयाँ मान्छेको संगत, नयाँ-नयाँ ठाउँको दृश्यावलोकन, पाँचतारे होटलको बसाइँ उनलाई यो पेशा उड्न परीभन्दा कम लागेको छैन् । ओमान एयरमा सुमीकाजस्तै एघार नेपाली परी कार्यरत छन् । तिमी अर्को जन्ममा के हुन चाहान्छौँ ? धेरैको उत्तर हुन्छ– चरा । त्यसो त ओमान एयरमा काम गर्ने नेपाली चेलीहरू योजना बनाएर एयर होस्टेज भएका होइनन् । एकाध मोड्लिङ, फेसन डिजाइन हुँदै अधिकांश विद्यार्थी जीवनबाटै एयर होस्टेज हुन आइपुगेका हुन् । प्रसार योगी, वविता राई, शिष्मा भण्डारी, शीतल मास्के, नसिम प्रधान, पुष्पा गुरुङ र सुष्मिता गुरुङ पाँच वर्षदेखि उडान शयरमा छन् ।

उनीहरूले कहिले बोइङ त कहिले एयरबसमा काम गर्नुपर्छ । एयरबसमा काम गर्नेले महिनाको ६ फ्लाइटसम्म उडान भर्नुपर्छ भने बोइङमा काम गर्नेले १५ उडानसम्म भ्याउनुपर्छ । उडान अवधिभर १२ घण्टा जागा रहनुपर्छ । महिनामा एक साता आराम गर्ने अवसर पाइन्छ । फरक क्षेत्रबाट आएकाले धेरैलाई यो पेशा शुरुमा अचम्म लागेको थियो रे ! उनीहरू भन्छन्– पहिलो उडानमा आफू परिचारिका हुँ भन्नेसम्म पनि ख्याल रहेन् । उडान अवधिभर थोरै रोमाञ्चक र धेरै त्रासले थिचिरह्यो । कतै बिग्रिने पो हो कि भन्ने डरले उडानको अनुभव नै भएन् । पछि बानी पर्दै गएपछि भने उनीहरूले बल्ल संसार बुझ्न थाले । एकदिन युरोप त एकदिन अमेरिकाको घुमाइले उनीहरूमा अर्कै आनन्दले घर गर्न थाल्यो । नयाँ मान्छेसँगको भेटले आफूभित्र पनि नयाँ सोच आएको अनुभूति हुन थाल्यो । अझ नेपाल रुटमा उडान पर्दा नेपाली दाजुभाइहरूलाई ‘आफू पनि नेपाली हुँ’ भनेर परिचय दिँदा देखिने न्यानोपनले थप ऊर्जा दिने उनीहरूको भोगाइ छ ।
जहाजको सानो झ्यालबाट संसारका चमत्कारहरू हेर्न पाउँदा यिनीहरू दंगदास पर्दा रहेछन् । भन्छन्– ‘मिलानको रोम, पेरिसको आइफेल टावर, लण्डनका प्राचीन स्मारक, जर्मनी, भारत, मलेशिया, श्रीलंका र बैंककको आकासबाट धर्तीमा देखिने दृश्य हेरेर कहिलेकाहीँ त हामी कहालिएका पनि छौँ ।’ यी परीहरूको अनुभवमा आकासबाट देखिने ती वस्तु संसारको सबैभन्दा सिपालु शिल्पीले बनाएको आकृतिभन्दा पनि राम्रो देखिन्छ । यसखाले उत्सुकता र जिज्ञासै-जिज्ञासाले भरिएको जागिरमा उनीहरूले कसरी प्रवेश पाए त ? ओमान एयरमा जनशक्ति ल्याउने जिम्मेवारी लिएको एक मेनपावर कम्पनीमार्फत उनीहरू त्यहाँ गएका रहेछन् । तर, ओमान एयरबाट छनोटका लागि आएको टोलीले काठमाडौं र ओमानमा पटक-पटक अन्तर्वार्ता लिएर उनीहरूलाई छानेको रहेछ । शारीरिक बनावट, सौन्दर्य, भाषा, दैनिक आहारविहारदेखि पौडी खेल्नसम्म दक्ष सुन्दरीहरू छनोटमा परेका रहेछन् ।

उनीहरू जसरी खुल्ला आकासमा काम गर्छन्, उसरी नै अवसरले पनि पछ्याउने रहेछ । ओमान एयरमा काम गर्ने सुन्दरी मध्येकी सोफिया चिमोरिया त अमेरिकाको युनाईटेड एयरलाइन्समा यस्तै जागिर पाएर उता लागिछन् । अब प्रश्न उठ्छ– यस्तो खाले सौखिन जागिर खानेहरूको पारिश्रमिक चाहिँ कति हुन्छ होला ? हामीले पनि यो जिज्ञासा ती परीहरूसँग राखेका थियौँ । कम्पनीको नियमअनुसार उनीहरूले भत्ताबाहेक प्रति उडान ५ सय रियाल पाउँदा रहेछन् । एक छाक खाना, होटल र हिँडडुलको थप सुविधा पनि पाउने गरेको यिनीहरू बताउँछन् ।

एक हप्ताअघि कसले कहाँको उडान भर्ने रोष्टर तयार हुन्छ । उडानका क्रममा विश्वका हरेक कुना चाहारे पनि तिनीहरूले आफ्नो थातथलो चाहिँ ओमानको मस्कटलाई बनाएका छन् । उडान अवधिभर संसारमा देखिएका रोमाञ्चक दृश्यले दिएको आनन्द उनीहरू ओमान उत्रिएपछि भने छियाछिया हुने रहेछ । घरेलु कामदारका रूपमा अवैध बाटोबाट ल्याइएका नेपाली नारीको दर्दनाक अवस्थाका दृश्यहरूले आफूहरूलाई द्रवित बनाउने गरेको यी हवाई सुन्दरीहरू एघारमध्ये एनआरएनको सदस्य भएर आपतविपतमा परेका नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई सहयोग गर्ने गरेको खुलाउँछन् ।

यी हवाई सुन्दरीहरूको भविष्यको योजना के छ त ? विवाहिताले पनि काम गर्न पाउने भएका कारण यिनीहरू ढुक्क छन् । सुत्केरी हुँदासम्म कम्पनीले छुट्टी र यथोचित सुविधा दिने गरेको छ । त्यसैले धेरैले घरजम पनि बसाइसकेका छन् । अहिले यही काममा रमाइरहेकाले भविष्यप्रति यिनीहरू चिन्तित छैनन् । तर, घर फर्किएर सामाजिक काममा बिताउने इच्छा चाहिँ संगालेका छन् । संसार घुम्ने बानी परेको स्थितिमा भोलि घरमा खुम्चिनु पर्दा बहुलाइने हो कि भन्ने पिरलोले पुष्पालाई अहिल्यै चिमोट्ने गर्छ ।

प्रत्येक एक मिनेटमा एक नेपाली युवा वैदेशिक रोजगारका लागि विदेशिने गरेको डरलाग्दो तथ्यांक सार्वजनिक भएको छ । कति मृत्युको मुखमा पुगेका छन् । अदक्ष कामदारका कारण लाखौं नेपालीले विदेशी भूमिमा अमानवीय दुःख झेलिरहेका छन् । तर, नेपालबाटै गएका यी हवाई सुन्दरीहरू भने आराम र सन्तुष्टिको कामकाजी जीवन बिताइरहेका छन् । यसले सभ्य र शिष्ट काममा पनि नेपाली श्रम विदेशी बजारमा बिक्न सक्ने रहेछ भन्ने पुष्टि गरेको छ भने अर्कातिर दक्ष कामदारका लागि मात्र वैदेशिक रोजगारी फलदायी हुने सन्देश दिएको छ ।\

Related Articles

Back to top button