कोरोना संक्रमित बालकको उपचारका लागि अभिभावकले धरौटी र उपचार शुल्क बुझाउन नसक्दा पोखराको मणिपाल शिक्षण अस्पतालले एक शिशुलाई अस्पतालबाट डिस्चार्ज गरेको छ ।
रोल्पा घर भई पोखराको फूलबारीमा बस्दै आएका जान बहादुर बुढाका २१ दिने शिशुमा जन्डिसको समस्या देखिएर अस्पतालमा उपचार गराइरहेको क्रममा कोरोना पुष्टि भएपछि अस्पतालले मागेको धरौटी रकम तत्काल जुटाउन नसक्दा अस्पतालले डिस्चार्ज दिएको बुढाले बताउनुभयो ।
बुढाका अनुसार गत वैशाख २३ गते मणिपाल अस्पतालमा नर्मल जन्मिएका बालकको जेठ १ गते स्वास्थ्यमा समस्या देखिएपछि मणिपाल अस्पतालले जन्डिस भएको भन्दै अस्पतालको एन-आइसियु वार्डमा ३ दिन राखेर उपचार गरेर घर पठाएको थियो । तर त्यसपछि पनि बच्चाको स्वास्थ्यमा झन् समस्या देखिँदै गएपछि बुढाले पुन : जेठ १२ गते बुधबार बालकलाई अस्पताल भर्ना गरेका थिए ।
बुधबार एन आइसियु वार्डमा भर्ना गर्ने बेलामा १० हजार धरौटी मागेको अस्पतालले बिहीबार बालकमा कोरोना पुष्टि भएको जानकारी गराउँदै ९० हजार धरौटी र दैनिक २२ देखि २८ हजारसम्म उपचार खर्च लाग्ने भन्दै धरौटी रकम तत्काल जम्मा गर्न भनेको बुढाले बताउनुभयो ।
‘डाक्टरले बच्चाको अवस्था गम्भीर छ, तत्काल धरौटी बुझाएर उपचार शुरु गर्नुपर्छ भन्नुभयो । मैले कोभिडको नि:शुल्क उपचार हैन र भनेर सोधे ।
डाक्टरको टिमले छलफल गरेर ९० हजार धरौटी बुझाउनै पर्ने र दैनिक २२ देखि २८ हजारसम्म उपचार खर्च तिर्नुपर्छ भनेपछि मैले तत्काल सक्दिन भन्दा डिस्चार्ज दिनुभयो’ , बुढाले दुखी हुँदै भन्नुभयो । अस्पतालले केही सहुलियत दिनुहोस् म पैसा खोज्छु भन्दा समेत नमानेपछि आफू बालक बोकेर सुत्केरी श्रीमतीसहित अस्पतालबाट फर्किएको बुढाले बताउनुभयो ।
यो घटना बाहिर आएसँगै कोरोना महामारीमा गरिब, विपन्न तथा मध्यम वर्गका जनताको केही सर्तसहित नि:शुल्क उपचार गर्ने भन्दै नेपाल सरकारसँग सम्झौता गरेको अस्पतालले सम्झौता विपरीत कार्य गरेको खुलेको छ । गम्भीर प्रकृतिका कोभिडका बिरामीको दैनिक १५ हजार रुपैयाँसम्मको खर्च सरकारले बेहोर्ने गरी भएको सम्झौताको मसी सुक्न नपाउँदै अस्पतालले सम्झौताको उल्लङ्घन गरेको हो ।
संक्रमितको अवस्था हेरेर दैनिक ३ हजार ५ सयदेखि १५ हजारसम्म उपचार खर्च अस्पताललाई प्रदान गर्ने र यदि दैनिक १५ हजार भन्दा बढी खर्च लाग्ने भएमा मात्र कोभिडका बिरामीले व्यवस्थापन गर्नु पर्ने गरी अस्पतालले संक्रमितको उपचार गर्न सरकार सँग सम्झौता गरेको थियो ।
अस्पताले दिएको डिस्चार्ज पेपरमा बच्चामा कोभिड सँगै गम्भीर प्रकृतिका स्वास्थ्य समस्या रहेको र मेडिकल एडभाइस बिना डिस्चार्ज दिइएको उल्लेख गरेको छ । सोही डिस्चार्ज पेपरमा बच्चाको पिआइसियुमा राखेर उपचार गर्नुपर्ने भएको तर अभिभावक गरिब भएकोले पैसा तिर्न नसेको उल्लेख गरिएको छ ।सोही डिस्चार्ज पेपरमा बच्चाको पिआइसियुमा राखेर उपचार गर्नुपर्ने भएको तर अभिभावक गरिब भएकोले पैसा तिर्न नसेको उल्लेख गरिएको छ । कोरोना पुष्टि भएको बिरामीलाई यस प्रकारको डिस्चार्ज पेपर दिनुले पनि स्वयं अस्पतालले सरकारी सम्झौता उल्लङ्घन गरेको पुष्टि गरेको छ ।
यस विषयमा मणिपाल शिक्षण अस्पतालका कोभिड उपचार केन्द्रका संयोजक डा. अभिसेक मास्केलाई सोध्दा घटनाको बारेमा आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिनुभयो । उहाँले कोभिड संक्रमितको उपचारमा लाग्ने शुल्क र छुटको बारेमा आफूलाई केही ज्ञान नै नभएको भनी हास्यास्पद अभिव्यक्ति दिनुभयो । ‘मलाई कोरोना संक्रमितको उपचारमा लाग्ने शुल्क र छुटको बारेमा केही थाहा छैन यसबारे अस्पतालको निर्देशकलाई सोध्नुहोस्’, अस्पतालको कोभिड उपचार केन्द्रमा संयोजकको भूमिकामा रहेका मास्केले भन्नुभयो । ‘निर्देशकको फोन सिधै उठ्दैन, एक्सटेन्सन नम्बर मार्फत कल गरेर बुझ्नुहोस्’, उहाँले थप निर्देशनात्मक शैलीमा भन्नुभयो ।
गरिव भएरै उपचार नगरेपनि अन्य विकल्प दिएर अस्पताललाई रिफर गर्नुको साटो सामान्य मानवीयताको व्यवहार समेत नदेखाई मणिपाल अस्पतालले बच्चाको ज्यान नै जाने गरी डिस्चार्ज दिएर अस्पतालबाट निकालेको हो । शिशुको अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
पैसाको अभावमा भर्खर जन्मिएको सन्तानलाई बचाउन नसक्ने भए भनेर रुँदै निस्किएका बुढा नाबालक छोरा र सुत्केरी श्रीमतीसहित एक जना चिनेका व्यक्तिको सल्लाहमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुगेका हुन् । घटनाको बारेमा आफूलाई फोन आएपछि बच्चालाई तुरुन्त अस्पताल लिएर आउन आग्रह गरेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका बाल रोग विभाग प्रमुख एवम् वरिष्ठ बाल रोग विशेषज्ञ डा. रामचन्द्र बास्तोलाले बताउनुभयो ।गम्भीर अवस्थामा अस्पतालमा ल्याइएका बालकको कोभिड १९ एनसियु आइसोलेसनमा राखेर उपचार भइरहेको बास्तोलाले बताउनुभयो ।
उहाँले मणिपालमा कोभिडका बिरामीको उपचारमा छुट भन्ने समाचार आफूले पनि मिडियाबाटै सुनेको भन्दै यस विषयमा सम्बन्धित अस्पतालमै बुझ भन्नुभयो । उहाँले भन्नुभयो, ‘ उक्त अस्पतालले दिएको डिस्चार्ज पेपरमा गरिब भएका कारण उपचार गर्न नसकेको ब्यहोरा छ, हाम्रो अस्पतालमा शिशुको उपचारमा एक पैसा पनि लाग्दैन, मणिपालले पनि छुट दिने गरी सम्झौता गर्यो भन्ने तपाइहरूकै मिडियाबाट सुनेको हो किन यस्तो भयो सम्बन्धित अस्पतालमै बुझ्नुहोस् ।’
उहाँले गरिब भएकै कारण गम्भीर अवस्थामा अस्पतालमा उपचार गराइरहेको बच्चालाई निकाल्नु मानवीय धर्मले पनि नदिने भन्दै उहाँले भन्नुभयो, ‘ मेडिकल क्षेत्रमा यस्तो गैह्र जिम्मेवारी हामीबाट हुँदैन, मैले त्यहाँ सम्बन्धित विभागमा उपचारमा संलग्न डाक्टरहरुलाई राम्रोसँग चिनेको छु, उहाँहरुले त्यस्तो गनुभयो भन्ने विश्वास नै मलाई लागेको छैन । म्यानेजेरियल टिमले यस्तो अवस्थामा कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा सोच्नुपर्ने तथा निर्देश गर्नुपर्ने थियो । ”
बच्चा गम्भीर अवस्थामा आफूहरूकोमा आइपुगेको बताउँदै उहाँले बच्चाको उपचारकोलागि आफूसहितको टिम गम्भीर रूपले लागेको र त्यसमा अस्पतालका डीन डा. श्री कृष्ण श्रेष्ठ तथा निर्देशक डा. भरत खत्रीले भरपुर सहयोग गर्नुभएको बताउनुभयो ।