जसिता गुरुङको कमब्याक
आइकोर फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’की मुख्य नायिका जसिता गुरुङको फस्टलुक सार्वजनिक भएको छ । यसअघि सार्वजनिक ३ वटा प्रचार सामाग्रीमा नायक धिरज मगरको मात्र गेटअप सार्वजनिक गरिएको थियो । तर, अब रेनशा राई रानाको निर्देशनमा तयार भएको फिल्मकी मुख्य नायिका जसिता गुरुङको फरक अवतारसहितको फस्टलुक रिलिज भएको छ ।
मंगलबार सार्वजनिक पोस्टरमा जसिता दुई फरक अवस्थामा चित्रित छिन् । एकातिर उनी शान्त र स्थिर भावमा देखिएकी छन् भने अर्कोतिर डान्सिङ मूडमा प्रस्तुत छिन् । पोस्टरमा उनको चरित्रको नाम ‘रूबी’ उल्लेख छ, जसको अर्थ ‘बहुमूल्य’ हुन्छ । फिल्ममा उनी नृत्यमा सौखिन पात्रको रुपमा रहेको पोस्टरले छनक दिन्छ । जसिता पछिल्लो पटक फिल्म ‘लभ स्टेशनमा देखिएकी थिइन् ।
रेनशा वान्तवा राईले फिल्मको निर्देशन गरेकी हुन् । कोरियोग्राफर समेत रहेकी उनले यसअघि ‘इन्टु मिन्टु लण्डनमा’को निर्देशन गरेकी थिइन् । नृत्यको विषयमा बनेको फिल्ममा अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राई, सूर्यमान लिम्बु, विकास जोशी, रिजोन परियार, सुशान्त गौतमको पनि अभिनय छ । फिल्ममा रेनशा स्वयंको कथा र पटकथा छ ।
आइकोर फिल्म्सको ब्यानरमा प्रभु शमशेर राणा र प्रज्ज्वल शमशेर राणा निर्माता रहेको फिल्ममा कालिप्रसाद बाँस्कोटा तथा रोहित शाक्यको संगीत, सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन र द वाइल्ड रिप्पर्ज क्रुको कोरियोग्राफी छ । निर्देशक राईले नृत्यको विषयवस्तुमाथि फिल्म बनाउन एकदमै चुनौतीपूर्ण र कठीन हुने भए पनि आफूले इमानदार कोसिस गरेको बताएकी छन् ।
यसअघि ‘इन्टु मिन्टु लण्डनमा’ जस्तो सफल लभ स्टोरी फिल्म बनाएकी नशाले यसपटक धिरज र जसितालदाई लिएर डान्सको बिषयमा कथा भनेकी छिन् । आउँदो वर्षको बैशाख २१ गतेबाट रिलिज हुन लागेको फिल्ममा अरुण क्षेत्री, प्रेम सुब्बा लगायतका कलाकारको पनि मुख्य भूमिका देख्न सकिन्छ ।