International

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आयो खुसीको खबर

पोखरा ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबारदेखि रात्रिकालीन उडान सुरु भएको छ। पोखरा विमानस्थललाई हब बनाएर बुद्ध एयरले चार सहरका आन्तरिक विमानस्थलबाट नियमित रात्रिकालीन उडान सुरु गरेको हो।

बुद्धले बिहीबार भद्रपुर, काठमाडौं, भैरहवा र नेपालगञ्जबाट पोखरामा रात्रिकालीन उडान भरेको छ। राति साढे ८ बजे भैरहवाबाट आएको पहिलो जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो।

यसै गरी ९ बजे काठमाण्डौंबाट आएको जहाज अवतरण भएको थियो। नेपालगञ्जबाट आएको जहाज राति १० बजेर ४० मिनेट जाँदा अवतरण भएको थियो।

उडान डिले हुँदा चारवटै उडान तोकिएको समयभन्दा ढिला आएको बुद्ध एयर पोखराका स्टेसन म्यानेजर गौतम बरालले बताए। शुक्रबार पनि भद्रपुर, काठमाडौं, भैरहवा र नेपालगञ्ज विमानस्थलबाट यहाँ नियमित रात्रिकालीन उडान हुने छ।

पहिलो फ्लाइट काठमाडौंबाट ८ बजे पोखरा विमानस्थलमा अवतरण हुने गरी उडान हुने बरालले बताए। चारै गन्तव्यका जहाजको रात्रि बिसान बिहीबारदेखि पोखरामा भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग सेड्यूल पास गराएर बुद्धले पोखरा विमानस्थलबाट व्यावसायिक रुपमा रात्रिकालीन उडान सुरु गरेको हो।

जहाजमा यात्रुको चापलाई हेरेर चार सहरमा रात्रिकालीन उडान थपघट हुने बुद्ध एयरका मार्केटिङ डाइरेक्टर रुपेश जोसीले बताए। पोखरा पर्यटकीय सहर भएकाले रात्रिकालीन उडानमा पनि यात्रुको चाप बढ्ने व्यवसायीको विश्वास छ। अन्नपूर्ण पोस्टबाट

Related Articles

Back to top button