एकै परिवारका तिन जनाको कोरोना संक्रमणबाट मृत्यु
उदयपुरमा एकै परिवारको तीन सदस्यको कोरोनाले ज्यान गएको छ । रौतामाई गाउँपालिका ७ मुर्कुचीको एकै परिवारको ३ सदस्यहरुको मृत्यु भएको हो । ६ दिनभित्रमै परिवारको आमा, जेठो छोरो र साइलो छोरोको मृत्यु भएको हो ।
रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काका अनुसार आमा ७१ वर्षिय तिलमाया मश्राङ्गी मगरको आज विहान होम आइसोलेशनमै मृत्यु भएको हो । जेठो छोरो ५१ वर्षिय पुष्कल मगरको गत १८ गते नोबेल हस्पिटल विराटनगरमा र साइलो छोरो ४५ वर्षिय तुलबहादुर मगरको १५ गते विराट हस्पिटल विराटनगरमा आइसियुमा उपचारको क्रममा मृत्यु भएको थियो ।
जनता माध्यामिक विद्यालय मुकुर्चका प्राचार्य खड्ग मगरका अनुसार आमा तुलमायासहित तीनछोराको कोरोना परिक्षण हुदा पोजेटिभ देखिएपछि गाईघाटस्थित मदनमण्डारी आँखा अस्पतालमा उपचारमा राखिएको थियो । त्यहाँ जेठो र साइलोको स्वास्थ्य अवस्था जटिल देखिएपछि आइसियुमा उपचारका लागि विराटनगर लगिएको थियो । अर्का कान्छो छोरो भने निको भएर घर फर्किए भने आमा तुलमायालाई होम आइसोलेशनमा लगिएको थियो ।
घरमै अक्सिजन लिदै रहनु भएकी आमाको आज विहान मृत्यु भएको थियो । जेठो पुष्कल ब्यवसायी थिए भने साइलो समाजसेवी थिए । मगर परिवारको एकै घरमा तीनजनाको मृत्युले मुर्कुची शोकमा डुबेको छ ।
सामाजिक काममा सधै अग्रसर हुने र अगुवाई गर्ने परिवारमा परेको अतुलनीय शोकले सिंगो मुर्कुची बजार शोकमा डुबेको प्राचार्य मगरले बताउनुभयो ।
योसंगै उदयपुरमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ । जसमा १२ महिला र २६ पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार उदयपुरमा मृत्यु हुने सबैभन्दा कम उमेर ३४ वर्षकी महिला र सबैभन्दा बढि उमेर ९० वर्षको पुरुष रहेका छन् ।
मृत्यु हुनेमा सबैभन्दा बढि त्रियुगा नगरपालिका रहेको छ । संक्रमण पनि उच्च दर रहेको त्रियुगामा मृत्यु हुनेको संख्या २२ जना हो । जिल्लाको चार नगरपालिका र चार गाउँपालिका गरी आठ पालिका मध्ये ताप्ली बाहेक सबै पालिकाका संक्रमितको मृत्यु भएको छ ।