उदयपुर । उदयपुरमा कोरोना केही होइन भन्नेहरु पनि भेटिन्छन् । कोरोनाले केही हुँदैन भन्नेहरु पनि भेटिन्छ तर जो कोरोना भाइरसबाट ग्रसित हुन्छन उसैलाई मात्रै थाह हुन्छन कोरोना भाइरस के हो भनेर ।
उदयपुरमा कोरोना भाइरसबाट पत्याउँदै नपत्याएको मानिसहरुको मृत्यु भईरहेको छ । अझै एउटै परिवारमा दुई वा दुई भन्दा बढी परिवार सदस्यको मृत्यु भएपछि उसको परिवारको लागि यो भन्दा ठूलो बज्रपात अरु के नै हुन्छ र ?रौतामाई गाउँपालिका ७ मुर्कुचीका जेष्ठको पहिलो एकै परिवारका तीन दाजुभाईमा कोरोना संक्रमित देखिएको थियो ।
अन्दाजी ५० वर्षिय जेठा दाजु पुस्कल मस्राङ्गी मगर, ४५ वर्षिय साइला भाई तुलबहादुर मस्राङ्गी मगर र कान्छा भाई सन्तोष मस्राङ्गी मगर कोरोना संक्रमित भएका थिए । उनीहरु सवैलाई आँखा अस्पतालको कोभिड आईशोलेसनमा बसेर उपचार गराउँदै थियो ।
जेठा र साइलालाई श्वासप्रश्वासमा समस्या भएपछि चिकित्सकले विराटनगर रेफर गरिदिए भने कान्छा भाई कोभिड आईसुलेशन गाईघाटमा उपचार पछि निको भएर घर फर्किसकेका छन् ।
जेठा र साईला सदाका लागि घर फर्किएनन् । साइलाको जेष्ठ १५ गते राति र जेठाको जेष्ठ १८ गते राति मृत्युको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जनाएको छ ।
मुल घर मुर्कुची भए पनि त्रियुगा नगरपालिका ११ गाईघाट बस्दै आएका समाज सेवी साइला दाजु तुलबहादुर मगरको जेष्ठ १५ गते राति उपचारको क्रममा विराट मेडिकल कलेज विराटनगरमा मृत्यु भएको थियो ।
अन्दाजी ५० वर्षिय जेठा दाजुको मंगलबार राति नोवेल मेडिकल कलेज विराटनगरमा उपचारको क्रममा मृत्यु भएको आफ्न्तले जानकारी दिए । नोवेलमा आईसियुमा राखेर उपचार गर्दा गर्दै कोरोनाले मृत्यु भएको हो ।
गाईघाट ११ स्थित आफ्नै घरमा बस्दै आएका साईला दाजुको श्रीमती, एक छोरा र दुई छोरी छन् भने मुर्कुची बस्दै आएका जेठा दाजुको श्रीमति, एक छोरा र तीन छोरी छन् ।
साइला दाजु समाज सेवी भएकाले नेपाल आदिवासी जनजाती महासंघ रौतामाई गाउँपालिका समन्वय परिषदका अध्यक्ष, नेपाल मगर जिल्ला समिति उदयपुरको सदस्य, मगर जिल्ला साँस्कृतिक संघको सचिव तथा आप्रबाशी कामदार हकहित संरक्षण समिति, उदयपुरका अध्यक्ष हुन् । साइला दाजु निर्माण व्यवसायी पनि हुन् ।
तुलबहादुरको मृत्युले रौतामाई गाउँपालिकाको मगर समुदायममा ठूलो क्षति पुगेको नेपाल मगर संघ जिल्ला समन्वय परिषदका अध्यक्ष भक्त मगरले बताए । उनीहरुको पुर्खौली घर ताप्ली गाउँपालिका ३ इनामे हुन् ।