International

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले चिनियाँ ब्याङ्कलाई कति ऋण छ तिर्न ?

चिनियाँ एक्जिम ब्याङ्कबाट २८ अर्ब रुपियाँ भन्दा बढी ऋण लिएर निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण र ब्याज भुक्तानीको प्रक्रिया अर्को वर्षबाट सुरु हुने नेपाली अधिकारीहरूले बताएका छन्।

यसै वर्षको ज्यानुअरी १ बाट सञ्चालनमा आएको उक्त विमानस्थलमा हाल घरेलु उडानहरू मात्रै भइरहेका छन्। विमानस्थल नजिकै यती एअरलाइन्सको एउटा विमान दुर्घटनामा ७० जना भन्दा बढीको ज्यान गएपछि संसारकै ध्यान खिचेको सो विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको सञ्चालनबारे कुनै निधो भइसकेको छैन।

सरकारका एक जना उच्च अधिकारीले उक्त विमानस्थलबाट हुने आम्दानीका आधारमा नै ऋण तिर्ने आफूहरूको योजना रहेको र त्यो सम्भव रहेको बीबीसीसँगको कुराकानीका क्रममा दाबी गरेका छन्। तर नागरिक उड्डयन सम्बन्धी कतिपय विज्ञहरूले नयाँ विमानस्थलले अन्तर्राष्ट्रिय वायुसेवाहरूलाई आकर्षित गर्न वर्षौँसम्म लाग्न सक्ने भएकाले धैर्यता र पूर्व तयारीमा जोड दिएका छन्।

कति ऋण छ?
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सोच झन्डै पाँच दशक अघि नै बनाइएको भएपनि त्यसको विस्तृत परियोजना प्रतिवेदन सन् १९८९ मा तयार भएको थियो।

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईका पालामा उक्त परियोजना निर्माणमा चिनियाँ आबद्धताबारे छलफल अघि बढेको र त्यसैबेला चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले काठमाण्डू भ्रमण गर्दा पोखरा विमानस्थल सहितका क्षेत्रमा ऋण दिने प्रतिवद्धता जनाएको द सेन्टर फर सोसिअल इन्क्लुजन एण्ड फेडरलिजम्‌को एउटा अध्ययनमा उल्लेख छ।

सन् २०१६ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका लागि चीनको एक्जिम ब्याङ्कले २१५.९६५ मिलअन अमेरिकी डलर (अहिलेको भाउ अनुसार २८ अर्ब ६ करोड रुपियाँ) ऋण उपलब्ध गराउने निर्णय लिएको थियो।

सरकारी अधिकारी के भन्छन्?
नेपालको लोकप्रिय पर्यटकीय गन्तव्य पोखरा सोलुखुम्बुको लुक्लापछि सबैभन्दा धेरै आन्तरिक उडान हुने स्थानमा पर्छ।सन् २०२१ मा १९ हजार भन्दा बढी उडानमा करिब ५ लाख ३० हजार यात्रु पोखरा पुगेका थिए।

कोभिड-१९ महामारीका कारण नेपालको पर्यटन क्षेत्रले गम्भीर धक्का खेपेको उक्त वर्ष जम्मा डेढ लाख विदेशी पर्यटक मात्रै नेपाल आएका थिए।तर पछिल्लो समयमा पर्यटकको सङ्ख्या बढीरहेको बताइएको छ। सन् २०२२ मा करिब ६ लाख १५ हजार विदेशी हवाई मार्गहुँदै नेपाल आएका थिए।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी बिस्तारै पर्यटन क्षेत्रमा पनि सुधारको सङ्केतहरू देखिएकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनबाटै सरकारले चिनियाँ पक्षलाई ब्याज तिर्न सक्ने ठान्छन्।

उनले बीबीसीसँग भने, “पोखरामा आन्तरिक उडानहरू पनि धेरै नै चल्छ। पुरानो विमानस्थलहुँदा रातिको समयमा उडान गर्न सकिँदैन थियो। तर अब रातको समयमा पनि हामी आन्तरिक उडान गर्न सक्छौँ। तीन वर्ष कमजोर अवस्थामा रहेको पर्यटन क्षेत्र अब तङ्ग्रिरहेको छ, पोखराबाट अरू गन्तव्यहरू पनि जान सकिने भएकाले आन्तरिक उडान पनि बढ्छन् र त्यसले पनि धेरै हदसम्म हाम्रो दायित्व बहन गर्न मद्दत गर्छ।”

उनले थपे, “यो क्षेत्रबाट अन्तर्राष्ट्रिय उडानहरू भयो भने त्यसले पनि मद्दत गर्छ भन्ने हो। त्यस्तो उडानका लागि केही समय लाग्छ किनभने एअरलाइन्सहरूसँग सम्झौता गर्नुपर्ने हुन्छ, उहाँहरू पनि तयार हुनुपर्‍यो। व्यवसाय पनि सुनिश्चित हुनपर्‍यो। तर आन्तरिकबाट पनि वहन गर्न सकिन्छ भन्ने हो।”

भारतबाट उडान होला त? अघिल्लो वर्ष उक्त विमानस्थलको ऋण लगानीकर्ता एक्जिम ब्याङ्कले जारी गरेको एउटा विज्ञप्तिमा पोखरा विमानस्थलमा एअरबस ३२० र बोइङ ७५७ एवम् अन्य जेट मोडलहरूको उडान र अवतरण हुन सक्ने जनाएको थियो।

त्यसमा पोखराबाट चेङ्दु, कुन्मिङ, ग्वाङ्जाओ र अन्य चिनियाँ सहरमा उडान हुन सक्ने भन्दै यो नेपाल र चीनले विकास गरेको ‘हिमालयवारपार बहुउद्देश्यीय सम्पर्क सञ्जाल’को महत्त्वपूर्ण पूर्वाधार रहेको उल्लेख गरिएको छ।

ज्यानुअरी १ मा प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त विमानस्थल उद्घाटन गरिरहँदा चीनले त्यसलाई उसको महत्त्वाकाङ्क्षी पूर्वाधार कार्यक्रम बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतको पूर्वाधारका रूपमा प्रस्तुत गरेको थियो।

भारतले बीआरआईलाई समर्थन गर्दैन र त्यसअन्तर्गत पाकिस्तानमा निर्माण भइरहेका कतिपय संरचनाले आफ्नो सार्वभौमसत्तामाथि हस्तक्षेप गर्न खोजेको उसले आरोप लगाउने गरेको छ। बीबीसी न्यूज नेपाली

Related Articles

Back to top button