पूजा शर्मा र नायिका रेखा थापाले एक साथ काम गर्ने
काठमाडौं ।
नायिका पूजा शर्मा र अर्की नायिका रेखा थापाले अब एक साथ फिल्ममा काम गर्ने भएका छन् । केही दिन यता सामाजिक संजालमा लेखक शिवम् अधिकारी र वितरक करण श्रेष्ठले रेखा र पूजासँगको तस्विर पोष्ट गरेपछि यी दुई नायिकाले एक साथ काम गर्न लागेको कुरा बाहिर आएको हो ।
उनीहरूले फिल्मको बारेमा केही त बताएका छैनन् । तर, स्रोतका अनुसार रेखा र पूजा चैत्र महिनादेखि नयाँ फिल्म बनाउने तयारीमा छन् । यसका लागि कथा लेख्ने काम धमाधम चलिरहेको छ । फिल्म ३ जना नायिकामाथि केन्द्रित रहने बुझिएको छ ।
जसमा रेखा र पूजा नै लिड भूमिकामा हुनेछन् । एक नायिका भने फाइनल भइनसकेको बताइएको छ । फिल्मका लागिल यी दुईले एक चर्चित निर्देशकलाई फिल्मका लागि अफर समेत गरेको बताइएको छ ।
अन्य समाचार / हेटौंडा ।
गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरको मेयरमा पराजित दीपकबहादुर सिंह पाँचौं पटकको सफलतापछि पछिल्लो निर्वाचन जितेर मंगलबार राज्यमन्त्री बन्नुभयो ।
गत स्थानीय तह निर्वाचनमा उपमहानगरमा सिंह २० हजार ५ सय ३१ मत ल्याएर तेस्रो बन्नुभएको थियो । दोस्रोमा रहनुभएका एमालेका अनन्त पौडेल भन्दा ३ सय मतमात्र कम पाउनुभएका सिंहले पछिल्लो निर्वाचनमा राप्रपाको मात्र नभइ गठबन्धनमा रहेकाकै मत आफूतिर आकर्षित गरेको देखिन्छ ।



गत आमनिर्वाचनमा मकवानपुर–१ मा लोकतान्त्रिक बाम गठबन्धनकी साझा उम्मेदवार कांग्रेसकी महालक्ष्मी उपाध्याय (डीना) लाई २ हजार ३ सय ९३ मतले हराउँदै सिंह विजयी हुनुभएको हो । सिंह २७ हजार ८ सय १६ मतले विजयी हुनुभएको थियो । उहाँका प्रतिद्वन्द्वी २५ हजार ४ सय २३ मत ल्याएर दोस्रो हुनुभएको थियो । सूर्य चुनाव चिह्नबाट उम्मेदवारी दिनुभएका राप्रपा नेपाल केन्द्रीय अध्यक्ष तथा उहाँकै पूर्वसहयात्री कमल थापा २५ हजार ४ सय २० मतसहित तेस्रो हुनुभयो । उक्त क्षेत्रमा ९१ हजार ४ सय ८६ मत खसेको थियो ।
चुनावअघि चर्चा भए पनि मध्यसम्म पनि मतपरिणाममा सिंह राजनीतिको दृष्यमै हुनुहुन्नथ्यो । डीना र थापाले सिंहलाई आफ्नो भोट काट्ने भन्दै शंकाको नजरले त हेरेका थिए, तर प्रतिस्पर्धी मान्न तयार थिएनन् । जब उपमहानगर क्षेत्रका मतपेटिकाबाट मतपत्र निकाल्न थालियो, डीनालाई अग्रता जोगाउन सकसमात्र परेन, नगरका केही वडाको मत गन्न बाँकी छँदै थापाले हार स्वीकार गर्ने अवस्था बन्यो ।
संघीय सरकारको ऊर्जा राज्यमन्त्री नियुक्त सिंहले मंगलबार शपथग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शितलनिवासमा भएको शपथग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यमन्त्री सिंहलाई शपथग्रहण गराउनुभएको हो । राप्रपा केन्द्रीय कार्यसम्पादन समिति सदस्य सिंह पार्टी अध्यक्ष राजेन्द्र लिङ्देननिकट नेताका रुपमा हुनुहुन्छ ।
मकवानपुरबाट राप्रपा नेपालका अध्यक्ष कमल थापा र नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डीना) लाई हराएर राजनीतिमा ख्याति कमाउनुभएका सिंह ऊर्जा तथा जलस्रोत राज्यमन्त्रीमा नियुक्त हुनुभयो । ‘राज्यको ढुकुटी रित्याउन मन्त्री नबन्ने’ बताउनुभएका सिंहले राज्यमन्त्रीमा शपथ खानुभएको छ ।
दुई प्रतिनिधिसभा क्षेत्र रहेको मकवानपुरमा दुवै क्षेत्र लोकतान्त्रिक बाम गठबन्धनको हातबाट फुत्किंदा राप्रपा करिब ३ दशकपछि मकवानपुरमा विजयी भएको थियो । मकवानपुरबाट प्रभावशाली नेताहरुसँग भिड्नुभएका सिंहलाई निर्वाचन प्रणालीमा पाँचौं प्रयासमा सफलता मिल्यो । तर, उहाँको पहिलो सफलताले राज्यमन्त्रीसम्मको उचाईंमा पु¥याएको छ । संघीय संसद् विजयी भएपछि सिंहले भ्रष्टाचार नगर्ने र राज्यको ढुकुटी रित्याउने फोहोरी खेलमा राप्रपा नलाग्ने वचन दिँदै मतदाता भेट्न घरदैलो पुग्नुभएको थियो ।
संघीय संसद्मा पुगेर देशमा भइरहेको बेथितिविरुद्ध आवाज उठाउने बताउनुभएका उनै सिंहले राज्यमन्त्रीको पद भने चुपचाप लिनुभयो । राजसंस्था र हिन्दुराष्ट्रको संरक्षक बनेर चुनावी माहोलमा होमिएको राप्रपा सत्तामा पुगेपछि राजनीतिक खेलमा कम्युनिष्टसँगै कुम जोडेर बसिरहेको छ ।
विभिन्न संघसंस्थामा आवद्ध उहाँ सुरुदेखि राप्रपाको संस्थापन पक्षका हुनुहुन्छ । कमल थापाले छाडे पनि उहाँ राप्रपामै अडिग रहनुभयो । पटकपटक हार बेहोरे पनि उहाँ राजनीतिबाट टाढा हुनुभएन, निराश हुनुभएन । गत बैशाखमा सम्पन्न स्थानीय चुनावमा २५ वर्षपछि फेरि हेटौंडाको मेयरमा उम्मेदवार बन्नुभयो ।
यस पटक भने उहाँले केही फरक अनुभव गर्नुभयो । सधैं ६ हजारको हाराहारीमा मत पाउने उहाँले स्थानीय चुनाबमा २० हजार कटाउनुभयो । त्यसबाट उत्साहित उहाँ झन् मेहनत गरेर जनतासँग जोडिनुभयो । फलस्वरुप, उहाँले कम्युनिष्टको गढ मानिएको मकवानपुरमा जित हासिल गर्नुभयो । जितसँगै लामो समय मकवानपुरमा छायामा परेको राप्रपालाई सिंहले ब्युँताउनुभएको छ ।
राजनीतिक यात्रा
२०५४ सालमा नगर मेयर उम्मेदवार उहाँले प्रत्यासी डोरमणि पौडेलसँग १ हजार २ सय मतान्तरले पराजित हुनुपरेको थियो । २०५६ सालको संविधानसभा निर्वाचनमा सिंह नेकपा एमालेका अनन्त पौडेलसँग करिब १ हजार ३ सय मतान्तरले पराजित हुनुभएको थियो भने २०७० को निर्वाचनमा नेकपा एमालेका विरोध खतिवडासँग २ हजार २ सय मतान्तरसाथ पराजित हुनुपरेको थियो ।
उहाँ २०७४ को प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक उम्मेदवार र बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा उपमहानगर मेयरमा तेस्रो हुनुभएको थियो । सिंहले २० हजार ३१ मत प्राप्त गर्दा मेयर विजयी नेकपा (एस) की मीनाकुमारी लामाले २३ हजार ६७ मत पाउनुभएको थियो ।
सिंह करिब ७ वर्षको हुँदा आमाबाबुले उहाँलाई लिएर हेटौंडा आउनुभएको थियो । त्यसपछि सिंह परिवारको स्थायी बसोबास हेटौंडा बनेको थियो ।