Entertainment

निरा छन्त्यालले इन्द्रेणीमा गाएको सबैलाई रुवाउने दोहोरी यस्तो थियो ( भिडियो )

काठमाडौं / प्रत्यक्ष दोहोरीमा चर्चित गायक राजु परियारसँगको घम्साघम्सीमा निराले जवाफ फर्काउनुभएको थियो – ‘हे… सब मरिन्छ, त्यही अन्तिम वर्षमा बाँचुञ्जेली बाँचम् न हर्षमा…’ जीवनलाई खुसीसाथ जिउनुपर्छ भन्ने उनै निरा आफन्त र शुभेच्छुकलाई शोकमा छाडेर आफूचाहिँ भौतिक संसारबाट अलप हुनुभएको छ । ख्यालख्यालमै गाएको गीत आफ्नै जीवनमा मेल खान आइपुग्यो ।

लोकदोहोरी क्षेत्रमा जबर्जस्त उदाउनुभएकी गायिका छन्त्यालले असमयमै मृत्युवरण गर्नुप¥यो ।गत वर्ष उहाँ आफैँले गाएको गीतले भनेझैँ, निराका लागि यो वर्ष (२०७९) नै अन्तिम बन्यो । न अब कतै युट्युबका भित्ता, न मेला, महोत्सवका झकिझकाउ मञ्चमा उहाँलाई प्रत्यक्ष हेर्न÷सुन्न नै पाइने छ । केबल स्वजनका स्मृति र आफ्ना सिर्जनामा निरा बाँचिरहनुहुनेछ ।

बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीमा जन्मनुभएकी निराको जीवनभर नेपाली लोकसङ्गीतको सेवा गर्ने उत्कट अभिलाषामा पनि ठेस पुगेको छ । आइतबार माघे सङ्क्रान्तिका अवसरमा पोखरामा हुने छन्त्याल समुदायको कार्यक्रममा भाग लिएर गायिका छन्त्याल मङ्गलबार म्याग्दी महोत्सवमा पुग्ने समय तालिका थियो । त्यहीँबाट बागलुङको भीमापोखरा जाने कार्यक्रम थियो ।

“बैनी निरासँग मञ्चीय कार्यक्रममा दर्शक, स्रोतालाई मनोरञ्जन दिलाउने कला र शैली अनौठो थियो”, लोकगायक विष्णु खत्रीले भन्नुभयो, “त्यही कारण मेला, महोत्सवमा उहाँको व्यस्तता बढ्दो थियो, धेरैतिर बोलाउँथे ।” सङ्गीत क्षेत्रमा भविष्य खोज्दै छन्त्याल चार वर्षअघि काठमाडौँ छिर्नुभएको थियो । गायनमा सफल हुँदै गएपछि उहाँको माग पनि बढ्दै गएको थियो । शनिबार मात्र काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले प्रस्तुति दिनुभएको थियो ।

सोही दिन टुँडिखेलामा सिसाखानीको ऐतिहासिक घाटु नाच प्रदर्शनका लागि पनि उहाँ सक्रिय भएर लाग्नुभएको थियो । पोखरा उड्नुअघि निराले सामाजिक सञ्जालमार्फत माघे सङ्क्रान्ति पर्वको शुभकामना दिनुभएको थियो ।

छन्त्यालले विद्यालय तहको पढाइ गाउँकै सिसाखानी माविमा पूरा गर्नुभएको थियो । बुबा मनबहादुर र आमा लिला छन्त्यालको कोखबाट जन्मनुभएकी निराको निधनपछि जन्मगाउँ सिसाखानीमा पनि शोक छाएको छ ।

Related Articles

Back to top button