भाकल पूरा भएपछि हलेसी महादेव मन्दिरमा चढाइयो १ तोला सुनको सिक्री
उदयपुर । हलेसी महादेवको कृपाले आफ्नो मनोकामना पूरा भएको भन्दै उदयपुरकी एक युवतीले १ तोला ४ लाल सुन चढाएकी छन् । जिल्लाको त्रियुगा नगरपालिका ६ जलजलेकी प्रभा राईले ६ वर्षअघि धार्मिकस्थल हलेसी पुगेर मागेको इच्छा शिद्ध भएको भन्दै उनले सुनको सिक्री बनाएर मन्दिरको नाममा व्यवस्थापन समितिलाई बुझाएकी हुन् ।
प्रभाले सोमबार हलेसी मन्दिरमा सुनको सिक्री चढाएकी हुन् । उनले ६ वर्षअघि लोकसेवा आयोगको परीक्षा उत्तिर्ण गरे सुन चढाउने भाकल गरेको जेठोखबरलाई बताइन् । भाकलसँगै उनले लोकसेवाको परीक्षा पास गरेकी थिईन् । भलै आफ्नो मिहेनतपूर्वक पढाईले पास भएपनि मन्दिरप्रतिको आस्थालाई जिवित राख्न भाकल अनुसार सुन चढाएको उनले बताइन् ।
हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईका अनुसार प्रभाले बालाचतुर्दशी, रामनवमी, हरिवोधनी, एकादशी जस्ता कुनै अवसर पारेर महादेवलाई पहिराइदिने गरी मन्दिर व्यवस्थापन समितिका प्रतिनिधि सर्वधन बस्नेत, हलेसी गुफाका पूजारी गोपाल गिरी र हलेसी महादेव मन्दिर व्यवस्थापन समितिका प्रतिनिधि हर्कराज राईको रोहभरमा कागज गरी बुझाइएको छ ।
प्रभा उदयपुरकै त्रियुगा नगरपालिका– १४ साउनेस्थित स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी (अनमी) भई कार्यरत रहेकी छन् । आफूजस्तै सरकारी सेवामा सफलता मिलोस् भन्दै प्रभाले बहिनीको नाममा समेत भाकल गरेकी छन् । उनले आफ्नो आमाको नाममा समेत भाकल गरेकी छन् । काजगमा लेखेरै भाकल गरेकी प्रभाले आफ्नो आमाको दुवै मृगौला खराब भएकाले स्वास्थ्यलाभको भाकलसमेत गरेकी छन् ।