News

प्रहरीको रासनभत्ता १५ प्रतिशत बढ्यो, तर नेपाली सेनाको भने यसकारण बढेन

नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनभत्ता १५ प्रतिशत वृद्धि हुने भएको छ । आगामी साउनदेखि रासनभत्ता बढ्ने अर्थमन्त्री विष्णु पौडेलले जनाएका छन् । विगत ६ वर्षदेखि सुरक्षाकर्मीको रासनभत्ता बढ्न सकेको छैन । गृह मन्त्रालयले करिब ३३ प्रतिशत रासनभत्ता वृद्धि गर्न सिफारिस गरेको थियो ।

तर, सरकारले १५ प्रतिशत मात्र वृद्धि गरेको छ । हरेक जिल्लामा प्रहरीको रासनभत्ता फरक–फरक हुन्छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीले रासनबापत भत्ता पाउने भए पनि नेपाली सेनाका कर्मचारीले भने ठेक्का प्रक्रियामार्फत रासन नै लिने गर्दछन् ।

यस्तै सरकारले सरकारी कर्मचारीको तलव २ हजार रूपैयाँले वृद्धि गरेको छ ।अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत गरेको आय-व्यय विवरणमा सबै राष्ट्रसेवक कर्मचारीको तलव दुई हजार रूपैयाँले वृद्धि गरेको जानकारी दिए । कोभिड-१९ महामारीका कारण तलव बढाउने अनुकूल परिस्थिति नभए पनि सार्वजनिक सेवा प्रवाहमा प्रभावकारिता बढाउन साउन १ देखि लागू हुने गरी सबै राष्ट्रसेवकको तलवममानमा मासिक २ हजार वृद्धि गरेको अर्थमन्त्रीले बताए ।

हालको महंगी भत्तालाई निरन्तरता दिएको पनि उनले जानकारी दिए । नेपालका कर्मचारीको तलवमानलाई दक्षिण एसियाका कर्मचारीसँग तादम्यता कायम गर्न तलवमानसम्वन्धी अध्ययन गरी सुझाव पेस गर्न सरकारले ‘पे कमिसन’ गठन गर्ने भएको छ । यसअघि आर्थिक वर्ष २०७६/७७ मा सरकारी कर्मचारीको तलब बढाएको थियो । सो वर्ष नायव सुब्बासम्म २० प्रतिशत र त्यसभन्दा माथि १८ प्रतिशत तलव बढाउने घोषणा भएको थियो । समयानुकुल तलव भत्तामा समायोजन गर्दै जानुपर्ने भन्दै कर्मचारी युनियनले सरकारलाई दवाव दिइरहेका थिए ।

निजामती कर्मचारीको तलबमान र अरु सेवा सुविधाबारे सुझाव पेश गर्न ‘पे कमिसन’ गठन गर्ने समेत अर्थमन्त्रीले बताएका छन् ।कर्मचारीको १० लाखको सामूहिक दुर्घटना विमा र एक लाखको स्वास्थ्य बिमाको पि्रमियम सरकारले व्यहोर्नेछ । निजामती कर्मचारीलाई सहुलियत दरमा आवास सेवा प्रदान गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट सातै प्रदेशमा सामूहिक आवास निमार्ण गर्ने समेत अर्थमन्त्रीले बताएका छन् ।

Related Articles

Back to top button