News

फेसबुकले बढाउँदैछ बालविवाह

डोटी, २८ पुस – जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडाकी मायाकुमारी विष्टको कक्षा ८ मा पढ्दा पढ्दै सामाजिक सञ्जाल फेसबुकमा एक युवकसँग चिनजान भयो । १७ वर्षीया विष्टको फेसबुकको सम्बन्धकै कारण विवाह पनि भयो । हाल उहाँ २० वर्षकी हुनुभयो । भर्खर विवाह गर्ने उमेर भएकी विष्टका दुई सन्तान जन्मिसकेका छन् । आजभोलि दुई सन्तान पाल्न आफूलाई समस्या हँुदै गएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “फेसबुकले गर्दा लभ प¥यो बिहे पनि ग¥यौँ, तर अहिले समस्या भयो, आफ्नो यस्तो लाई पीडा कसलाई सुनाउनु ? त्यसैले दुःख सहेरै बसेकी छु ।” आफूले सानै उमेरमा बिहे गरेकोप्रति अहिले निकै पछुतो भएको पीडा उहाँले सुनाउनुभयो । उहाँले गहभरी आँशु निकाल्दै थप भन्नुभयो, “लहैलहैमा लागेर सानै उमेरमा बिहे गरियो, त्यसको परिणम भोग्दै छु ।”

त्यस्तै जिल्लाको बडिकेदार गाउँपालिका–४ मान्नाकापडीका १७ वर्षीय दीपक बोहरा र छिमेकी गाउँकी १४ वर्षीया शर्मिलाबीचको विवाहको मुख्य माध्यम पनि सामाजिक सञ्जाल, फेसबुककै नै हो ।यसै माध्यमबाट बालविवाह हुनपुग्यो । बिहे गरेको दुई वर्षमै छोरी जन्मिइन् । हाल उहाँहरुको परिवारमा पनि सधैँजसो झगडा र कलह मात्रै हुने गरेको शर्मिला बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “बुद्धि नपुगेर सानैमा विवाह गरेँ अहिले झगडा मात्रै हुन्छ, कसरी जीवन धान्ने होला भन्नेमा नै चिन्तामा छु ।”

डोटी जिल्लाकै दिपायल सिलगढी नगरपालिका–८ लडागडाकी चनरी नेपाली पनि बालविवाहका कारण आफ्नो भविष्य बर्बाद भएको निष्कर्षमा पुग्नुभएको छ । तर उहाँका आमा बुबाले नै बालविवाह गरेको उहाँको भनाइ छ । आमाबुबाकै कारण आफूले बालविवाह गरेकाले अहिले हास्ने खेल्ने उमेरमा परिवार र सन्तानको स्याहारमा जीवन बितेको उहाँको भनाइ छ । उहाँकै शब्दमा अहिले आएर बुझेपछि भने उहाँ आत्मग्लानी भइरहेको बताउनुहुन्छ ।

“आमाबुबाले सानैमा बिहे गरिदिए, उहाँहरूको बोझ बनेर माइत बस्नु छोरीको धर्म होइन” उहाँले भन्नुभयो, “बाल्यकाल कसरी ढल्क्यो थाहै भएन, सानैदेखि पढ्ने रहर हुँदाहुँदै घरपरिवारको करकापले विवाह गरिदिए, अहिले पछुताउनुबाहेक अरू विकल्प छैन् ।”डोटी जिल्लामा पारिवारिक दबाब, साथीसङ्गीको लहलहैमा लागेर, अभिभावकको हेरचाह तथा पालन पोषणको अभाव रहेका र राम्रो घरपरिवार पाउँदा विवाह गर्ने चलनका कारण यहाँ बालविवाह बढेको देखिएको छ ।

यसका साथै भविष्य सुन्दर हुने आशले र सानो उमेरमै विवाह गर्दा राम्रो हुन्छ भन्ने मान्यताका कारण पनि बालविवाह अझै रोकिएको छैन । यहाँका स्थानीय चाडपर्वको प्रभावका कारण हुने भेटघाटका साथै सामाजिक सञ्जाल, मोबाइल र इन्टरनेट प्रयोगका कारण बढी मात्रामा बालविवाह हुने गरेको सरोकारवाला बताउछन् । डोटीको दिपायल सिलगढी नगरपालिका–८ (साविकको लडागडा गाविस) मा मात्रै विगत तीन वर्षको अवधिमा १६३ वटा बालविवाह भएको देखिएको छ ।

साविकको क्षेत्रीय सदरमुकाम दिपायल राजपुर नजिकै रहेको उक्त वडामा बालविवाह तीन वर्षदेखि क्रमशः उकालो लागिरहेको पाइएको छ । सामुदायिक विकास केन्द्र (सिडिसी) को सहयोगमा यहाँका जनप्रतिनिधिले गरेको सर्वेक्षणअनुसार विसं २०७३ मा ३८, विसं २०७४ मा ५६ र विसं २०७५ सालमा ६९ जनाको बालविवाह भएको पाइएको छ । उक्त सर्वेमा संलग्न सामुदायिक विकास केन्द्रका परियोजना जिल्ला संयोजक एकराज बडूले बालविवाहको दर घट्नुको सट्टा बढिरहेको पाइएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“तथ्याङ्क हेर्दा बालविवाह घट्नुको सट्टा बढिरहेको पाइयो, बालविवाह गर्नु अपराध हो भन्ने जान्दाजान्दै पनि किन मानिस यसो गरिरहेका होलान बुझ्नै सकिएको छैन ।” जिल्लामा हुने अधिकांश बालविवाह पुण्य कमाउने नाममा हुने गरेको जोरायल गाउँपालिका–५ की स्थानीयवासी तुलसी शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “महिनावारी नहुँदै छोरीको विवाह गरे पुण्य प्राप्त हुन्छ भन्ने अन्धविश्वासले यहाँका मानिस सानैमा छोरीको विवाह गरिदिने गरेका छन् ।

जसले गर्दा पछि छोरीलाई समस्या हुनेगर्छ ।” यति मात्र नभइ जिल्लामा पछिल्लो केही वर्षयता बालविवाहको अवस्था बढ्दै गइरहेको छ, बालविवाहलाई समाजले पनि मौन स्वीकृति प्रदान गरेको जस्तो देखिन्छ ।जिल्लामा विसं २०७३ वैशाख देखि २०७५ चैतसम्म १३३ जना बालिका र २७ जना बालकको बालविवाह भएको विभिन्न सङ्घ संस्थाको तत्थ्याङ्कमा उल्लेख गरिएको छ । उक्त तत्थ्याङ्कअनुसार विवाह गर्ने १४ देखि १९ वर्षका बालबालिका धेरै रहेका छन् ।

डोटीमा बालविवाहले वर्षेनी बिकराल रुप लिँदै आएको स्थानीयवासी बताउछन् । यसरी बालविवाह गर्नेपछि गएर सुखी र खुशी जीपनयापन नहुने गरेको कथा सुनाउने धेरै भेटिन्छन् । अभिभावकको करकाप तथा आफ्नै इच्छाले विवाह गरेका जोडी पनि विवाहपछि देखापर्ने समस्यासँग जुध्न नसकेर पछुताउने गरेका भेटिन्छन् .

Related Articles

Back to top button