News

देशका यी स्थानमा ठुलो पानी पर्ने, यस्तो छ मौसम पूर्वानुमान

काठमाडौं । शनिबार हाल देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र अन्य प्रदेशहरु थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का देखि मध्यम पानी परिरहेका छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा चक्रवात यास् पश्चिमउत्तर-पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको देखिन्छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । यस्तै प्रदेश २, बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा ठुलो पानी पर्ने सम्भावना रहेको छ।

त्यस्तै आज राति देदेशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका केहि स्थानहरूमा ठुलो पानी पर्ने सम्भावना रहेको छ ।

यो पनि पढ्नुहोस्।

चामेको नयाँबजारमा बाढी पस्यो, बस्ती जोखिममा (फोटो फिचर)

जेठ १४ गते । हिमाली जिल्ला मनाङको चामे क्षेत्रमा बाढी आउँदा वस्ती जोखिममा परेको छ । तीन दिनदेखि निरन्तर परेको पानीका कारण चामेको नयाँबजारमा बाढी पसेको हो । चामे घट्टे खोला र ठाडोलाइन खोलाबाट आएको बाढीले वस्ति जोखिममा परेको स्थानीयले बताएका छन् । स्थानीय पाल्साङ गुरुङका अनुसार उक्त ठाउँमा हालसम्मकै ठूलो बाढी आएको हो । बजार क्षेत्रभित्र बाढी पसेर सडक क्षतविक्षत बनाएको छ । केही घरको जग लगेको छ । बिजुलीका पोलहरु लगेको छ । कुखुराका खोरहरु पनि बगाएको उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार चामेको नयाँबजारमा रहेको घट्टेखोलाबाट आएको बाढीले वस्ती जोखिममा पारेको छ । शुक्रबार दिउँसो ३ बजे एक्कासि बाढी पसेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो । उहाँका अनुसार तीन दिनसम्म पानी निरन्तर परिरहँदा घट्टेखोबाट बाढी पसेको हो ।

दुईवटा पक्की घरहरु उच्च जोखिममा रहेको उहाँले बताउनुभयो । केही छाप्रोहरु पनि जोखिममा परेको छ । बजारमै रहेको पक्की पुलको वरिपरिको भाग बगाएको छ ।

प्रहरी नायव उपरीक्षक सुवास खड्काका अनुसार घट्टेखोला माथिबाट आएको बाढीले वस्ती जोखिममा परेको हो । एउटा होटल र एउटा घरको जग पानीले लगेको छ । भत्किने अवस्थामा रहेको बताउनुभयो । यस्तै, ट्रस हालेर बनाइएको एक÷एक वटा मासुपसल, कस्मेटिक पसल पनि जोखिम अवस्थामा रहेको छ । ति जोखिम घरहरुको व्यक्तिलाई स्थानान्तरण गरिएको छ । सामानहरु पनि सारिएको छ । पानी परिरहेकाले जोखिम बढ्ने भन्दै वस्तीका नागरिकलाई स्थानान्तरण गर्न थालेको बताउनुभयो ।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार दिउँसो एक्कासि खोला बढेर आउँदा बजार क्षेत्रमा बाढी पसेको हो । दिउँसोको समयमा बाढी आएकाले स्थानीय भाग्न सफल भएका छन् । घरहरुमा क्षति भएपनि मानवीय क्षति नभएको उहाँले बताउनुभयो । पानी परिरहेमा अन्य घरहरु पनि जोखिममा पर्न सक्ने अवस्था रहेको बताउनुभयो ।

निरन्तर पानी परिरहेकाले गाउँपालिकाले जोखिम बढ्ने भन्दै गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने नागरिकलाई सुरक्षित ठाउँमा रहन अनुरोध गरेको छ । बसोबास र खानपानमा समस्या भएका गाउँपालिकाको विपद् व्यवस्थापन समितिलाई सम्पर्क गर्न अनुरोध गरेको छ । स्थानीयलाई स्थानान्तरणका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी खटिएका छन् ।

Related Articles

Back to top button