नेपालमा डलरको भाउ अकासिएर नयाँ रेकर्डमा
काठमाडौं । अमेरिकी डलरको भाउ अकासिएर नेपालको इतिहासमै नयाँ रेकर्ड कायम भएको छ । यसरी निरन्तर अकासिएको अमेरिकी डलरको भाउले रेमिट्यान्स रकम भित्र्याउनेहरूलाई भने केही फाइदा पु¥याए पनि हरेक वस्तु आयातमा निर्भर मुलुकलाई बढ्दो आयात खर्च धान्न कठिन हुने भएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार (आज)का लागि निर्धारण गरेको विनिमयदरअनुसार एक अमेरिकी डलरको विक्री दर १ सय ३२ रुपैयाँ २ पैसा कायम भएको छ । यसैगरी, १ अमेरिकी डलरको खरिददर पनि १ सय ३१ रुपैयाँ ४२ पैसा कायम भएको छ । यो नेपालको इतिहासमा अहिलेसम्मकै अत्यधिक उच्च भाउ हो । यसअघि, गत १३ असोजका लागि एक अमेरिकी डलरको विक्री दर १ सय ३१ रुपैयाँ ४१ पैसा कायम भएको थियो । खरिददर पनि १ सय ३० रुपैयाँ ८१ पैसा कायम भएको थियो ।
सो दिनभन्दा अघि पनि गत ११ असोजमा एक अमेरिकी डलरको भाउ विक्री दर बढेर १ सय ३० रुपैयाँ ९० पैसा र खरिददर १ सय ३० रुपैयाँ ३० पैसा कायम भएको थियो । सो समयदेखि दसैंको केही दिन केही घटेको अमेरिकी डलरको भाउ पुनः उकालो लागेर यो नयाँ रेकर्ड कायम गरेको हो ।